
इस्लामावाद, ३१ जेठ । काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आज आइतबार हस्ताक्षर हुने बताउनुभएको छ । हस्ताक्षर भएपछि स्ट्रेट अफ होर्मुज तुरुन्तै सबैका लागि खुला हुने उहाँको भनाइ छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत् सो जानकारी दिनुभएको हो । ट्रम्पको सो भनाइ इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईसँग बाझिएको देखिएको छ । बघाइले यसअघि दस्तावेजहरुमा आज आइतबार हस्ताक्षर नहुने तर आगामी दिनमा हुन सक्ने बताउनुभएको छ । अमेरिका र इजरायलले गत फेब्रुअरी अन्तिम साता इरानमा हमला गरेपछि मध्यपश्चिम क्षेत्र अशान्त छ । विश्वभर इन्धन ढुवानीको महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द छ । प्रत्यक्ष भेटघाटले लजिष्टिक चुनौतीहरु र प्रक्रिया अवरुद्ध हुने सम्भावना बढी भएकाले अधिकारीहरुले सम्झौतामा भर्चुअल हस्ताक्षरको योजना बनाइरहेको सीएनएनले जनाएको छ ।
अमेरिका–इरान वार्ताको अन्तिम चरणमा पुगेको समाचारसँगै पाकिस्तान र साउदी अरबले प्रस्तावित बुँदाहरुमा सम्झौताको सहमति भएकोमा स्वागत गरेका छन् । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार र साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदले अमेरिका–इरान वार्ताको अन्तिम चरण पुगेकोमा स्वागत गरेका हुन् । टेलिफोन कुराकानीका क्रममा दुई मन्त्रीबीच अमेरिका र इरानबीच जारी वार्ताकाबारेमा छलफल भएको र यस प्रक्रियाले यस क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम हुने आशा व्यक्त गरेको पाकिस्तानी विदेश मन्त्रालयले जारीगरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ–साउदीको विदेश मन्त्रीले वार्ता प्रक्रियाको क्रममा मध्यस्थता र संवादको समर्थनमा पाकिस्तानले गरेको निरन्तर प्रयासको प्रशंसा गरेका छन् । दुवै पक्षले यसै महिनाको अन्त्यमा इजिप्टमा हुने चार देशका विदेश मन्त्रीहरुको बैठकको तयारीबारे पनि छलफल गरेका पनि विज्ञप्तिमा जनाइएको छ । पाकिस्तानले यस क्षेत्रमा वार्ता प्रवद्र्धन गर्ने र तनाव कमगर्ने कूटनीतिक प्रयासलाई सक्रिय रुपमा समर्थनगर्दै आएको छ । एजेन्सीहरु