
काठमाडौं, २६ पुस । आज एमालेको गत महाधिवेशनपछिको दोश्रो केन्द्रीय कमिटीको बैठक बस्दैछ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीकाअनुसार बैठक आज बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेष्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बस्ने बैठकले आगामी निर्वाचनसम्बन्धी बिभिन्न महत्वपूर्ण निर्णयगर्ने छ । बैठकमा आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको रणनीति, समसायिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
बैठक आगामी २८ गतेसम्म हुने छ । यसैबीच एमालेका सचिव डा राजन भट्टराईले यसपटकको केन्द्रीय कमिटी बैठक प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुने भएकाले केन्द्रीय सदस्य मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्यविभाजन नहुने बताउनुभएको छ । त्यसैगरी एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसंगठनहरुलाई सक्रिय हुन निर्देशन दिनुभएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा हिजो भएको जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरु निर्वाचन अभियानको अग्रपंक्तिमा उभिनुपर्ने बताउनुभएको थियो । एमालेले आगामी निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष निर्वाचन लड्नेहरुको टुंगो लगाइसकेको बताइएको छ ।