
काठमाडौं, २ पुस । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताउनुभएको छ । निर्वाचन आयोगले हिजो आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितको छलफलमा उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचन घोषणा भएदेखि नै दृढ अठोटकासाथ लागेको र अब पनि दृढ अठोटका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले राष्ट्रपतिबाट निर्वाचन घोषणा भएको दिनदेखिनै आयोगले शून्यबाट उठेर काम शुरुगरेकोमा हालसम्म करिब ७० प्रतिशत काम भएको छ ।
निर्वाचनको वातावरण बनिरहेको छ । निश्चित प्रक्रिया पूरागरेर निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । त्यसमा हामी लागिरहेका छौँ भन्नुभएको थियो । उहाँले निर्वाचनको लागि संविधान, ऐन÷कानून पुरानो भएको र प्रविधि र केही पद्धति परिवर्तन गर्नुुपर्छभन्ने सन्दर्भ आएको उल्लेखगर्दै बिभिन्न माग राख्दै हरेक दिन दुई÷चार वटा ज्ञापनपत्र आउने गरेको सुनाउनुभयो । कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोगसँग मात्रै सम्बन्धित ऐन÷कानून, नियमलाई संशोधनमार्फत सहज बनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा खर्चको नियन्त्रणसम्बन्धी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राख्नुभएको जिज्ञासामा भण्डारीले मितव्ययी ढंगले खर्चगर्न आयोग सचेत रहेको बताउनुभयो ।
उहाँले नागरिक सरकारले खर्च नियन्त्रणगर्न अघिसारेका सवालमा आयोग तयार छ, सरकारी कोषबाट हुने खर्च हामीले अत्यन्त मितव्ययी ढंगले गर्छौं, यसअघि ०७९ सालमा भएका दुईवटा निर्वाचन पनि सोही नीतिअनुसार काम गरेर देखाइसकेका छौँ । अब दल र दलका उम्मेदवारले गर्ने खर्चको हकमा पनि कड्याइकासाथ सीमा तोक्छौँ भन्नुभएको थियो । उम्मेदवारलेगर्ने खर्चको सवालमा उम्मेदवारको भूगोल र निर्वाचन क्षेत्रको मतदाताको संख्याको आधारमा खर्चगर्न दिने गरिएको भण्डारीको भनाइ थियो । रासस