काठमाडौं, १२ पुस । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वबिद्यालयको अतिक्रमित जग्गमध्ये ४०८ विघा जग्गामा मोही रहेको पाइएको छ । देउखुरीको एकहजार ३३७ विघा जग्गामध्ये ४०८ विघा जग्गामा मोही रहेको पाइएको कूलसचिब माधव अधिकारीले जानकारी दिनुभएको छ । यसमा लमही नगरपालिकाको सतबरियामा अतिक्रमित १६८ विघा जग्गामध्ये ८३ विघा जग्गामा मोही छ, भने राजपुर गाउँपालिकाको गङ्दी र दूलैयामा एक हजार १३२ विघा जग्गामध्ये ३०६ विघा जग्गामा मोही रहेको छ । त्यस्तै गढवा गाउँपालिकाको गोवरहियामा ३६ विघा जग्गामध्ये १८ विघा जग्गामा मोही लोगेको छ । यसमा केही मोहीको नाम नामेसी फरक देखिएकाले मालपोत कार्यालयको श्रेष्ताअनुसार भिडाउन आवश्यक रहेको उहाँले बताउनुभएको छ । केही मोही बेपत्ता भएकोभन्ने भनाइ रहेको कारण जग्गाधनी प्रमाण पुर्जामा रहेका मोही र क्षेत्रफल फरक हुने सक्ने अबस्था रहेको उहाँको भनाइ छ ।
०६९ मंसिरमा देउखुरी जग्गा व्यवस्थापनसम्बन्धि प्रतिवेदनमा लालपुर्जामा भएका, मोही लगतमा नभएका, अधिकांश मोही जग्गा छाडी अन्यत्र गएका भनि मोहीको नामावली र क्षेत्रफलसमेत उल्लेख भएको देखिएको छ । देउखुरीको सबैजग्गा अतिक्रणमा छ । सोही जग्गा विश्वबिद्यालयलाई सञ्चालनका लागिभनेर दाताले सहयोग गरेका थिए । ०५८ सालसम्म त्यो जग्गाबाट आयस्तासमेत आउथ्यो । त्यस बेला देउखुरीमा गोदाम घरसमेत थिए । तर, अहिले आयस्ता आउने गरेको छैन । देउखुरीमा हाल १२ विघा जग्गा तेरोमेरोका कारणले नाममा आउन सकेको छैन । हाल गढवामा आठ विघा र सतबरियामा चारविघा जग्गा तेरोमेरो भनेर दर्ताभएको छैन । तुलसीपुर उपमहानगरपालिका–१८ को बेलझुण्डीमा पनि ३२६ विघा जग्गा छ । जुन जग्गामा मोही छैन । तर, २० विघा जति सोही ठाउँको जग्गा पनि अतिक्रमणमा परेको छ । कुलसचिब अधिकारीका अनुसार मोही परेका किसानलाई जग्गा दिएपनि ८०० विघा जग्गा विश्वबिद्यालयसँगै रहन्छ । त्यो जग्गा लिजमा दिएमा विश्वबिद्यालयको आम्दानी बढ्ने उहाँको भनाइ छ । देउखुरीमा २०१० सालमा मजगैया परिवारले उच्च शिक्षाको प्रोत्साहनगर्दै उक्त जग्गा दान गरेका थिए ।
जसमा १२ खण्डमध्ये एक खण्डमा महादेवा मन्दिरको पुजाआजागर्ने र ११ भागको आयस्ताबाट बिद्यालयको पठनपाठन गर्ने कार्य गरिएको थियो । तत्कालिन अवस्थामा जनता बिद्यालय र सूदय रामेश्वर महादेवजीको नाममा दान गरिएको थियो । ०२८ सालमा उक्त जग्गामा नाप नक्सा भयो र ०४५ सालमा नेपाल संस्कृत विश्वबिद्यालयको नाममा नामसारी भएको थियो । त्यस्तै ०२७ सालमा विश्वबिद्यालय रहेको बेलझुण्डीमा साविक विजौरी र मानपुर गाविसमा ३४१ बिघा जग्गा दाताबाट प्राप्त भएको थियो । हाल मोही परेको जग्गा बाँडफाँटकालागि सरकारले यही बर्षको चैत मसान्तसम्म जग्गा बाँडफाँटकालागि निवेदन दिने सूचनासमेत जारी गरेको छ ।
सोही निवेदनका आधारमा ०८३ साल असारमसान्तसम्म टुंगोमा लगाइसक्नेगरी सूचना जारीगरेको हो । विश्वबिद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनकालागि भनेर पटक,पटक छलफल बहस हुनेगरेको भएपनि त्यसले सार्थकता पाउन सकेको छैन् । जग्गा तथा सम्पति खोजविनका लागि उच्च अदालतका पूर्वन्यायाधिश शेखरप्रसाद पौडेलको नेतृत्वमा समिति बनेको थियो । त्यो समितिले नौमहिना लगाएर प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदन कार्यान्वयनकालागि सरकारी संयन्त्रसमेत बनेको छ । रासस