रामल्लाह, २ असार । प्यालेष्टिनी राष्ट्रपति महमुद अब्बासले यसै वर्षको नोभेम्बरमा विधायिका चुनावगर्न आह्वान गर्नुभएको प्यालेष्टिनी समाचार संस्था वाफाले जनाएको छ । सन् २०२७ को शुरुवातमा राष्ट्रपतिको पनि चुनाव गर्नेगरी तयारीगर्न निर्देशन जारी गर्नुभएको छ । प्यालेष्टिनी नेता अब्बासको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–राष्ट्रपतिले यस वर्षको नोभेम्बरमा विधायिका चुनावगर्न र सन् २०२७ को शुरुमा राष्ट्रपतीय निर्वाचन गर्ने घोषणा गर्नुभएको छ । सन् २००५ मा प्यालेष्टाइनको राष्ट्रपतीय निर्वाचनमा बिजय हाँसिल गरेका ९० वर्षीय अब्बासले चारवर्षको लागि जनादेशसहित सत्ताको बागडोर सम्हाल्नुभएको थियो ।

अब्बासले राष्ट्रपतीय अधिकारको प्रयोगगर्दै कार्यकाल थप गर्नुभएको थियो । त्यसपछि कुनै पनि राष्ट्रपति चुनाव भएको छैन । कार्यकाल थप्ने उहाँको निर्णयका लागि देश र विदेशमा आलोचना हुँदैआएको थियो । अब्बासले आफ्नो आदेशमा उहाँले भन्नुभएको छ–उहाँ नोभेम्बरमा हुने प्यालेष्टाइन राष्ट्रिय परिषद्को चुनाव आयोजनागर्न पूर्ण रुपमा तयार हुनुहुन्छ । प्यालेष्टाइन राष्ट्रिय परिषद् प्यालेष्टाइन मुक्ति संगठन (पीएलओ) को संसद हो, जसमा प्यालेष्टाइन क्षेत्र र विदेशका ७०० भन्दा बढी सदस्यहरु छन्। प्यालेष्टाइन क्षेत्रमा पछिल्लो विधायिका चुनाव सन् २००६ मा भएको थियो, जसमा हमासले अब्बासको फताह पार्टीलाई पराजित गरेको थियो ।

फलस्वरुप, अब्बासको प्यालेष्टाइन प्राधिकरणको संसद प्यालेष्टाइन विधान परिषद्को सन् २००७ देखि बैठक हुनसकेको छैन । चुनाव गराउनु अन्तर्राष्ट्रिय समुदायले माग गरेको सुधारको एक हिस्सा हो, जसले प्यालेष्टाइन प्राधिकरणलाई आर्थिकरुपमा समर्थन गर्दछ । प्यालेष्टिनी कानुनी अनुसन्धानकर्ता महमुद अल–अफ्रान्जीले प्यालेष्टिनी प्राधिकरणमा निर्वाचन गराउन राजनीतिक इच्छाशक्ति र अन्तर्राष्ट्रिय दबाब दुवै रहेको बताउनुभएको छ । उहाँले एएफपीसँग पूर्वी जेरुसेलम र गाजा पट्टीमा चुनाव हुने सुनिश्चितताको अभाव ‘विधायिका चुनाव गर्नका लागि अवरोध’ बनेको थियो भन्नुभयो । सन् २०२१ मा, अब्बासले क्रमशः त्यस वर्षको मे र जुलाईमा विधायिका र राष्ट्रपति चुनावको घोषणा गर्नुभएको थियो ।

सन् १९६७ देखि इजरायलले कब्जा गरेको पूर्वी जेरुसेलममा मतदान हुन सक्छ भन्ने सुनिश्चितता नभएका कारण ती निर्वाचनलाई अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सन् २०२३ अक्टोबरमा गाजा युद्ध शुरुभएपछिको पहिलो मतदानमा गत अप्रिलमा प्यालेष्टिनीहरुले कब्जा गरिएको वेस्ट बैंकमा नगरपालिका परिषद् प्रमुखहरु चयनगर्न मतदान गरेका थिए । रासस, एएफपी