काठमाडौं,९ मंसिर । नेकपा (मसाल) का महामन्त्रि मोहन बिक्रम सिंहले आज एक बक्तब्य प्रकाशित गरी प्रधानमन्त्रि वालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका बारेमा आफ्नो पार्टीको धारणा सार्बजनिक गर्नुभएको छ । उहाँले बक्तब्यमा भन्नुभएको छ–भ्रमणको सबैभन्दा उल्लेखनीय पक्ष के होभने उनले औपचारिकरुपले नै कालापनी, लिपुलेक, लिम्पियाधुराको नेपालको भूगोललाई भारतलाई सुम्पेर आएका छन् । त्यसबारे उनले सामान्य रुपले पनि चर्चा नगरेको र संयुक्त विज्ञप्तिमा पनि त्यसबारे कुनै उल्लेख नगरेको कुराबाट उनले भारतीय साम्राज्यवादप्रति आत्मसमर्पणको नीति अपनाएको कुरामा कुनै शंका रहन्न । यो आम जनतालाई थाहा भएको कुरा होकि उनी काठमाडौं मेयर हुदा उनले आफ्नो कार्यालयमा अखण्ड नेपालको नक्सा राखेर आफूलाई चरम प्रकारको राष्ट्रवादी देखाउने प्रयत्न गरेका थिए र त्यसले गर्दा नेपालका जनता र युवकहरुमा उनीप्रति धेरै आकर्षण बढेको थियो । पछि नेपालका मन्त्री वा उच्चपदाधिकारीहरु भारत वा चीनको यात्रामा जादा पनि उनले लिपुलेकबारे चीन र भारतले गरेका सन्धि वा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतमाथि भारतले गरेको अतिक्रमणका विरुद्ध कडा प्रकारले आवाज उठाउनुपर्ने कुरामा जोड दिएका थिए ।

उनै वालेन्द्र शाहले आफ्नो भारत भ्रमणको बेलामा कालापानी समेतमाथि भारतले गरेको कब्जाबारे आत्मसमर्पणको नीति अपनाएर आए । त्यसबाट के प्रस्ट हुन्छभने उनी कुनै सिद्धान्त वा नीति भएका व्यक्ति नभएर चरम प्रकारका मौकापरस्त व्यक्ति हुन् र उनले आफ्नो फाइदाका लागि कुनै पनि बेला कुनै पनि प्रकारको सौदावाजी गर्न सक्दछन् । अर्को शब्दमा उनी अत्यन्त अविश्वसनीय व्यक्ति हुन् । त्यस प्रकारको व्यक्तिको हातमा अहिले देशको नेतृत्व छ । त्यसबाट देशमा कुनै पनि प्रकारको दुष्परिणाम हुन सक्दछ र त्यसप्रति हामीले सम्पूर्ण देश तथा जनताको ध्यान आकर्षित गर्न चाहन्छौ“ । प्रबुद्ध समूहको प्रतिवेदनबारे पनि प्रधानमन्त्रीले कुनै कुरा उठाएनन् । नेपाल–भारत दुवै देशका विज्ञ सम्मिलित संयुक्त प्रबुद्ध समूहले १९५० को सन्धि लगायत नेपाल र भारतसित सम्बन्धित विभिन्न विषयहरुमा पुनरावलोकन गरेर तिनीहरुबारे कैयौ सुझाव दिएको थियो । तर प्रधानमन्त्री मोदीले वर्षौं बितिसक्दा पनि त्यो प्रतिवेदनलाई बुझ्न अस्वीकार गरेका छन् । त्यसबारे पनि नेपालका प्रधानमन्त्रीले कुनै उच्चारण समेत गरेनन् । नेपालका भैरहवा र पोखराका हवाई मार्गलाई भारतले अहिलेसम्म बाटो दिएको छैन । त्यसले नेपालको हवाई यातायात, पर्यटन र विकासमा समेत धेरै बाधा पुगेको छ । प्रधानमन्त्रीको भारत यात्राका बेलामा पोखराका लागि भारतमा हवाई यातायातको बाटो दिनेबारे त कुनै कुरा नै गरिएन । काठमाडौं–भैरहवा–लखनउ हवाइ रुट दिने सहमति गरिएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्दछ । तर यस सन्दर्भमा यो उल्लेखनीय छ कि योभन्दा अगाडि पनि स्वयं भारतीय प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमणका बेला विभिन्न हवाई रुट दिने सहमति भएको थियो । त्यसपछि पनि दुई देशका सरकार प्रमुख स्तरमा पनि विभिन्न हवाई रुट दिने भारतले सहमति गरेको थियो । त्यसका साथै सन् २०१६ मा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग दिने सहमति भारतले गरेको थियो । तर ती सबै सहमितहरुलाई विभिन्न बहानामा कार्यान्वयन गरिएन । अहिले प्राविधिक टोलीको रिपोर्ट आएपछि काठमाडौं–भैरहवा–लखनउ हवाईमार्ग उपलब्ध गराउने सहमति भएको छ । तर त्यो सहमति पनि विगतकै सहमति जस्तो हुने त होइन ? त्यो प्रश्न उठाउने ठाउँ छ । चीन र भारत दुवै हाम्रा छिमेकी देशहरु हुन् र हाम्रो देशले उनीहरुप्रति तटस्थ नीति अपनाउँदै आएको छ र अहिले वालेन्द्र शाहले अपनाएको नीतिबाट उनले ती दुवै देशप्रतिको तटस्थ नीतिलाई त्यागेर पूरै भारतपरस्त नीति अपनाउन थालेको आभास मिलेको छ ।

उनले अहिले भारत भ्रमणको बेलामा भारतका लागि सुरक्षा परिषदमा स्थायी सिट मात्र होइन, भिटो सहितको सदस्यताको प्रस्तावलाई समर्थन गरेका छन् । त्यस प्रकारको समर्थनले उनको भारतपरस्त दृष्टिकोणलाई नै बताउँछ । त्यो नेपालको लागि गम्भीर चिन्ताको विषय हो । उनको त्यस प्रकारको भारतपरस्त नीति कुनरुपमा देखापर्दै जानेछ ? त्यो कुरा आउने दिनहरुमा नै थाहा हुँदै जानेछ । अहिले भारतका प्रधानमन्त्री मोदीले वालेन्द्र साहको धेरै नै प्रशंसा गरेका छन् । तर यो कुरा बुझ्न गाह्रो पर्दैन कि उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतबारे आत्मसमर्पणवादी नीति अपनाएको समेत कार्यले नै उनले वालेन्द्र शाहको त्यस प्रकारको धेरै प्रशंसा गरेका हुन् र त्यही कारणले उनी मोदीका लागि धेरै प्रिय पात्र बनेका छन् । नेपालमा जसले भारतले कब्जा गरेको नेपालको भूमि वा सुस्ता समेतको सिमा अतिक्रमणबारे देशभक्तिपूर्ण दृष्टिकोण राख्ने गर्दथे, ती सबैप्रति मोदीले शत्रुतापूर्ण नीति अपनाउथे तर अहिले उनको स्वर बदलिएको छ ।

त्यसको कारण के हो ? बुझ्न गाह्रो पर्दैन । उहाँले बक्तब्यको अन्त्यमा अहिलेको भारत भ्रमणका बेलामा भारतले भोटेकोशीको बाढीद्वारा पीडित जनताको लागि राहतसमेत नेपालको विकास सम्बन्धी कैयौ परियोजनामा सहायता दिन स्वीकार गरेको छ । नेपालको विकासका लागि कुनै मित्र देशले दिने सहायतालाई हामीले सकारात्मकरुपमा नै लिनुपर्दछ । तर त्यस प्रकारको कुनैपनि सहायताको अर्थ देशको स्वतन्त्रता, राष्ट्रियता र स्वतन्त्रतासितको सौदावाजी हुन नपाओस्, त्यसप्रति नेपाली जनताको सधै उच्च ध्यान जानुपर्ने आवश्यकता हुन्छ भन्नुभएको छ ।