काठमाडौं, २ पुस । बैंक तथा बित्तिय संस्था बिरुद्ध उच्छृंखल गतिविधि बढ्दै गएपछि राष्ट्रबैंकले कडा कदम चाल्ने भएको छ । यसैक्रममा प्राप्त समाचारअनुसार पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरुप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्तगर्न सहज स्मरण गराएको छ ।

केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन–०७३ र यस बैंकको निर्देशनको अधिनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जासम्बन्धी परियोजनाहरुको अनुगमनगर्नु र कर्जा असुलउपरगर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो भनिएको छ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलनगरी कर्जा प्रवाहगर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्तागर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रुपमा गर्नुपर्ने उल्लेख गरेको छ । कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधनगर्न नेपाल राष्ट्रबैंकले समय समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरणगर्दै आएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

बैंकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र यस बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेमा गुनासोगर्न र समाधानगर्न सकिने व्यवस्था समेत रहेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्ध भएका गैरव्यावसायिक तथा उच्छृंखल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकाले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहारगर्ने तथा उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्यगर्न नेपाल राष्ट्रबैंकले अनुरोध पनि गरेको छ ।