काठमाडौं,३१ जेठ । भारतले नेपाली चियामा कड्याइँ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुनेभएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एशोसिएसन नेपालले भोली असार १ गतेदेखि उद्योग बन्दगर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भारतीय बजारमा पुगेको तीनलाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छभने उद्योगमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ । भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालनगर्न नसकिएको एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले बताउनुभयो । किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयारी चिया बनाएका छौँ, तर बजारमा बिक्री हुनसकेको छैन ।
भण्डारण गर्ने ठाउँसमेत भरिइसकेको छ”, अध्यक्ष श्रेष्ठले किसानलाई भुक्तानी रोक्न मिल्दैन, त्यसैले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प रहेन भन्नुभयो । भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागूगरेको छ । यसअनुसार प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ । उद्योगी गोपाल कट्टेलले उत्पादन भएको चिया बजारमा पुर्याउने बाटो नै बन्दजस्तै भएको छ । भारतले विभिन्न प्राविधिक झन्झट सृजना गरेर नेपाली चिया रोकेपछि उद्योग सञ्चालन गर्न सक्ने अवस्था रहेन भन्नुभएको छ । नेपाली चियाको निर्यात समस्या समाधानगर्न केन्द्र सरकारले प्रभावकारीरुपमा पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले सरकारले समयमै कूटनीतिक पहल गरेर निर्यात सहजीकरण गर्न पहल गर्नुपर्छ । अवरोध हटाउन पहल नभए अर्बौँ रुपैयाँको नेपाली चियाको बजार गुम्ने खतरा रहेको बताउनु भएको छ । उद्योग बन्दहुँदा हजारौँ किसान प्रभावित हुनेछन् । एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा दुईहजार ९९५ चिया किसान छन् । यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चियाखेती हुँदै आएको छ, जहाँबाट वार्षिक दुईकरोड किलो हरियोपत्ती उत्पादन हुन्छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवीन कोइरालाका अनुसार नेपालबाट बर्षेनि ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुन्छ । जसको ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा जानेगरेको छ । वार्षिक सवा चार अर्ब बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मुख्यतः इलाम, पाँचथर र धनकुटामा उत्पादन हुन्छ । रासस