काठमाडौं, ८ पुस । महोत्तरीको मटिहानी नगरपालिका–४ स्थित सिंगो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस्तादेखि बस्दै आएपनि लालपुर्जा नभएको स्थानीय सेवक सदाले बताउनुभयो । उहाँका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै परिवारसँग आफ्नो जग्गाको लालपुर्र्जा छैन । सोही बस्तीमा पाँचौँ पुस्ता बसोबास गर्दै आइरहेको बताउहुनने २२ वर्षीय शोभेन्द्र सदाका अनुसार यस बस्तीमा वृद्धवृद्धा, वयस्क महिला, पुरुष तथा बालबालिका सबै गरेर ३७० जनसंख्या रहेको छ । बस्तीकै ५० वर्षीय शंकर सदाले आफूहरुले हालसम्म लालपुर्र्जा प्राप्त नगरेको र यसले के काम गर्छ भनेरसमेत थाहा नभएको बताउनुभयो ।
अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरुको आफू बस्ने घरबाहेक अरु जग्गा जमिन नरहेको र भएका जग्गाको समेत लालपुर्र्जा नभएको वडाध्यक्ष अब्दुल गफार राईनले बताउनुभयो । उहाँकाअनुसार त्यस बस्तीमा कसैको दुई धुर, कसैको चार धुर र कसैको एकधुर जग्गा छ । तर अब चाँडै उनीहरुलाई लालपुर्जा वितरणको पहलगर्ने उहाँले बताउनुभयो । एक बर्षअघिमात्रै खटिआएको नापी टोलीले आफ्नै अगुवाइमा बस्तीको जग्गा नापजाँच गरेर गइसकेको र चाँडै आवश्यक प्रक्रिया पूरागरी लालपुर्र्जा वितरण गरिने वडाध्यक्ष राईनले बताउनुभउको छ । रासस