वाशिंगटन, ७ असार । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता आज आइतबारबाट नै शुरु हुनसक्ने बताउनुभएको छ । वार्ताका लागि अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेको उहाँले बताउनुभएको हो । शनिबार फक्स न्यूजसँगको अन्तर्वार्तामा भान्सले आफू पनि छिट्टै स्विट्जरल्यान्ड जाने र वार्ता आज आइतबारबाट नै शुरु हुनसक्ने बताउनुभयो ।

यसैबीच, लेबनानमा इजरायलले गरेको आक्रमणको विरोध गरेको छ । अमेरिकासँगको समझदारीपत्रमा इरान र यस क्षेत्रका लेबनान लगायत इराननिकट शक्तिहरुको आक्रमणलाई पनि रोक्ने सहमति भएको र इजरायल र लेबनाननबीच शुक्रबार युद्धविराम घोषणा भएपनि आक्रमण नरोकिएकोभन्दै इरानको मुख्य सैन्य कमान्ड खातम अल–अन्बियाले हर्मुज जलडमरु बन्द गर्ने घोषणा गरेको छ । अमेरिकाले नयाँ शान्ति समझदारी उल्लङ्घन गरेको र इजरायलले दक्षिणी लेबनानमा युद्धविराम तोडेकोभन्दै इरानले यस्तो कदम चालेको जनाएको छ । भान्सले इरानले जलडमरु बन्द गरेको कुनै प्रमाण नदेखिएको बताउँदै फक्स न्यूजसँग भन्नुभयो, “हामीले इरानीहरुले हर्मुज जलडमरु बन्द गरेको कुनै प्रमाण देखेका छैनौं । तर त्यहाँ रहेका विष्फोटक पदार्थहरु हटाउन केही समय लाग्ने भएकाले पूर्णरुपमा नियमित जहाज आवागमनमा केही समय लाग्नेछ ।

”पाकिस्तानको विदेश मन्त्रालयले हिजो शनिबार इस्लामावाद समझदारी पत्र अनुसार अमेरिका र इरानबीच प्राविधिक स्तरको वार्ता आइतबार स्विट्जरल्यान्डको बुरगेनस्टकमा हुनेछ । दुवै देशका प्रतिनिधि तथा मध्यस्थकर्ता पाकिस्तान र कतारका प्रतिनिधिहरु वार्तामा सहभागी हुनेछन् । पाकिस्तानले मध्यस्थकर्ताको भूमिकामा यो प्रक्रियालाई निरन्तर सहयोग गर्नेछ । रासस, सिन्ह्वा