काठमाडौं,७ असार । चिडियाखानाका प्रमुखलाई अकस्मात हटाइएको छ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु (एच फाइभ एन वान)को संक्रमण पुष्टि भएको विषय लुकाएको आरोपमा त्यहाँका प्रमुख सत्यनारायण साहमाथि छानबिन थालिएको बताइन्छ । संक्रमणबारे राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा तानिएको बताइन्छ । कोषको अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाइएको छ । कोषले चिडियाखानामा बर्डफ्लु फैलनुको कारण पत्तालगाउन प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

समिति सदस्यमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा. मधु क्षेत्री सदस्य रहनुभएको छ । समितिलाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेशगर्न निर्देशन दिइएको छ । अनिश्चितकालका निम्ति चिडियाखाना बन्द पनि गरिएको छ । वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ । योसँगै चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको छ । पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको थियो । चिडियाखानामा करिब १० दिनअघिदेखि पन्छी र जनावर मरेको भएपनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी नगराएको आरोप लगाइएको छ ।