
काठमाडौं,५ असार । आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बन्दै छभने बैठकमा मारामार हुने अवस्था रहेको सूत्रहरुले उल्लेख गरेका छन् । धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि बैठक शुरु हुनलागेको थाहा भएको । तर आजको बैठकका विषयमा सो पार्टीभित्रै विवाद देखिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत अनधिकृत व्यक्तिहरुलाई बैठकमा आमन्त्रण गरेकोभन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कारगर्ने घोषणा गरेको छ । बैठकमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिहरुलाई सहभागी गराउन लागिएपछि विवाद उत्पन्न भएको हो । त्यस्तै एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका ६५ जनालाई पनि सहभागी गराउन लागिएको छ। केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य बाहेकका अन्यलाई सहभागी गराउनु सर्वमान्य सिद्धान्त र पद्धति विपरीत रहेको असन्तुष्ट पक्षको भनाइ छ ।
हिजो बसेको कार्यसम्पादन समितिको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, सदस्य अर्जुन राई तथा पूर्व अध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले यस विषयमा अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँहरुले केन्द्रीय सदस्यबाहेक अरुलाई बैठकमा राख्न नहुने अडान राख्नुभएको थियो । केन्द्रीय सदस्य जनकराज पाठकले आफूसहितका विधिको पक्षमा रहेका नेताहरुको आजको बैठकमा सहभागिता नरहने बताउनुभएको छ । गत निर्वाचनमा जुम्लाबाट ज्ञानेन्द्र शाहीले जित्नुबाहेक अन्य अधिकांश ठाउँमा राप्रपाका उम्मेदवारहरुको जमानत जफत भएको थियो ।
केन्द्रीय समितिमा आफ्नो आलोचना हुने डरले अध्यक्षले आफ्ना पक्षका मानिसहरु र चुनाव हारेका उम्मेदवारहरुलाई प्रयोग गरेर सुरक्षित हुन खोजेको असन्तुष्ट पक्षको बुझाइ रहेको देखिएको छ । हिजो बसेको कार्यसम्पादन समितिको बैठकले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको थियो । जसअनुसार आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा राप्रपाको महाधिवेशन आयोजना गरिने भनिएको छ ।