काठमाडौं,२९ कात्तिक । नेपालमा दलाई लामा समर्थहरुको चलखेल तीब्र बन्दैगएको देखिएको छ । यसैक्रममा भारतको हिमाञ्चल प्रदेशको धर्मशालाबाट निर्वासित तिब्बती संसदको एक टोली आगामी मंसीर ३ गते नेपाल भ्रमणमा आउन लागेको थाहाभएको छ । निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाको मुख्यालय रहेको धर्मशालाबाट निर्वासित तिब्बती संसदका दुईजना प्रतिनिधि नेपाल आउन लागेका हुन् । निर्वासित सांसद दावा छिरिङ र चोदाक ग्यात्सोको टोली राजनीतिक उद्देश्य लिएर नेपाल आउन लागेको समाचार बाहिर आएको छ । दावा उचाङ (अहिलेको स्वायत्त तिब्बत) र चोदाक धोमे÷आम्दो (उत्तर–पूर्वी तिब्बत) क्षेत्रको प्रतिनिधित्व गर्ने तिब्बती निर्वासित संसदका सदस्यहरु भएको बताइएको छ ।

नेपालको बौद्ध–जोरपार्टीको छोयोजोर तिब्बती शिविरमा करिब ५ हजार तिब्बती शरणार्थीहरुको बसोबास छ । गत अप्रिलमा भएको तिब्बती निर्वासित संसदको निर्वाचनमा भाग लिन छोयोजोर शिविरमा रहेका करिब ३५०० तिब्बती मतदाताहरुलाई केन्द्रीय तिब्बती निर्वाचन आयोगले प्रतिबन्ध लगाएपछि बौद्ध क्षेत्रका तिब्बती शरणार्थीहरुले निर्वासित तिब्बती सरकार (सीटीए), संसद र निर्वाचन आयोगविरुद्ध विद्रोह गरेका छन् । तिब्बती निर्वासित संसदको १८औँ निर्वाचन १ फेब्रुअरी र र २६ अप्रिल २०२६ गरी दुई चरणमा सम्पन्न भएको थियो । नेपालको बौद्ध क्षेत्रमा तिब्बती बस्तीअन्तर्गत बौद्ध र जोरपाटीका मतदान केन्द्रहरुमा फेब्रुअरी १ मा भएको प्रारम्भिक निर्वाचनमा धाँधली भएको भन्दै दोस्रो चरणको निर्वाचनमा निर्वाचनमा आयोगले मतदानगर्न रोक लागाएपछि शुरुभएको यो विवाद अहिलेसम्म पनि समाधान भएको छैन् ।

बौद्धको छोयोजोर तिब्बती शरणार्थी शिविरको गत शुक्रबार बसेको बैठकमा अधिकांश प्रतिनिधिहरुले धर्मशालाबाट आउने सांसदहरुको प्रतिनिधिहरुलाई बहिष्कार गर्नुपर्ने धारणा राखेको बताइएको छ । धर्मशालाबाट तिब्बती संसदका प्रतिनिधिहरुको नेपाल भ्रमण हुनलागेपछि बौद्धका तिब्बतीहरुमा थप विवाद सृजना भएको देखिएको छ । यसैबीच अमेरिकी नागरिक तथा बौद्ध धर्मगुरु नामग्याल दावा रिन्पोछे सुनसरीको धरान पुगेको थाहा भएको छ ।

बिराटनगरबाट प्रदेश १–०२–००२ च ६५४५ नम्बरको सवारी साधानमा उहाँ धरान उपमहानगरपालिका–१९ स्थित जिमी चोकमा रहेको हिमालयन साधना सिद्धि केन्द्र पुगेसँगै हिमालयन साधना सिद्धि केन्द्रको आयोजनामा स्वागत कार्यक्रम आयोजना गरिएको थियो । केन्द्रका प्रमुख लामा नाम्च्याक दोर्जेको अध्यक्षतामा आयोजित कार्यक्रममा नामग्याल दावा रिन्पोछे प्रमुख अतिथि रहनु भएको थियो । स्वागत कार्यक्रममा धर्मगुरु तथा बौद्ध धर्मावलम्बीहरु गरेर झण्डै ५०० जनाको सहभागिता रहेको बताइएको छ । उक्त हिमालयन साधना सिद्धि केन्द्रमा मंसिर ६ गतेसम्म धार्मिक पूजा,अनुष्ठान तथा अन्य धार्मिक कार्यक्रम सञ्चालन गरिँदैछ ।