काठमाडौं,५ असार । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशमा ऋण लिनुको बिकल्प नभएको दाबि गर्नुभएको छ । अर्थमन्त्री डा वाग्लेले प्रतिनिधिसभाको हिजोको बैठकमा उठेका प्रश्नहरुको जवाफदिँदै उपरोक्त खुलाशा गर्नुभएको हो । उहाँले राज्य सञ्चालनका लागि सार्वजनिक ऋण परिचालनको विकल्प नभएको बताउनुभएको थियो । उहाँले आगामी आर्थिक वर्षमा वैदेशिक ऋणतर्फ दुई खर्ब ४७ अर्ब र आन्तरिक ऋणतर्फ चार खर्ब १० अर्ब परिचालन गरिने लक्ष्य राखिएको छ । सोही अवधिमा आन्तरिक ऋणको सावाँ र व्याज भुक्तानीका लागि दुई ४६ अर्ब खर्च हुने र खुद एक खर्ब ६४ अर्ब मात्र आन्तरिक परिचालन गरिनेछ भन्नुभएको थियो ।

अर्थमन्त्री डा वाग्लेले आन्तरिक ऋणलाई आर्थिक क्रियाकलाप चलायमान गराउने राज्यका प्राथमिकता प्राप्त आयोजनामा विनियोजन गरिएको बताउनुभयो । उहाँले अर्थतन्त्रको आकारको तुलनामा सार्वजनिक ऋण विगतभन्दा वृद्धि भएको छैन । आर्थिक, सामाजिक तथा मानवीय विकासमा पछाडि परेको कर्णाली, मधेस र सुदूरपश्चिमलगायत क्षेत्रलाई प्राथमिकतामा राखी क्षेत्रगत बजेट तथा कार्यक्रम विनियोजन गरिएको छ भन्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले आगामी आवको बजेटमा दलित वालबालिकाको पोषण भत्ता दोब्बर गरिएको जानकारी दिनुभएको थियो । उहाँले विनियोजन ऐन–०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली–०७७ मा संशोधनगरी पूँजीगततर्फको रकमान्तर विषयगत मन्त्रालयले नै गर्नसक्नेगरी अधिकार प्रत्यायोजन गरिएको बताउनु भएको थियो । सार्वजनिक खरिद ऐन तथा नियमावलीमा संसोधन गरी प्रक्रियालाई छोट्याइएको र आयोजना प्रमुखलगायत जनशक्तिको स्थायित्व सुनिश्चित गरिएकाले पनि अब पूँजीगत खर्चमा वृद्धि हुने अर्थमन्त्री डा वाग्लेको भनाइ थियो ।