काठमाडौं,११ कात्तिक । एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार बिरुद्ध आन्दोलनको बिकल्प नभएको बताउनु भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज आयोजित नवमनोनीत तीनजना केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधनगर्दै अध्यक्ष ओलीले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले मुलुक अहिले सिंगो राज्यकारुपमा स्वतन्त्रताको उपभोगगर्न नसक्ने कठीन अवस्थामा पुगेको बताउनु भएको थियो । उहाँले देशको वर्तमान अवस्थालाई थप बिग्रिनबाट जोगाउन तथा नागरिकलाई स्वतन्त्रता र स्वाधीनताको अधिकार पूर्णरुपमा प्रयोगगर्न योग्य बनाउन अब सशक्त आन्दोलनको विकल्प नरहेको बताउनु भएको थियो ।

उहाँले देशमा कसैले पनि खुलेर बोल्न नसक्नेगरी राज्य आतंक सिर्जना गरिएको, चौतर्फीरुपमा गुण्डाराज चलिरहेको र सरकार पूर्णरुपमा बेलगाम फाँसीवादको बाटोमा हिँडिरहेको दाबि पनि गर्नुभएको थियो । उहाँले देशलाई हालको यो जटिल अवस्थाबाट पारलगाउने ऐतिहासिक जिम्मेवारी एमालेको काँधमा आएको दाबीगर्दै गत फागुन २१ गते भएको निर्वाचन प्रतिगमनको योजनाबद्ध दोश्रो श्रृंखलामात्र भएको उहाँको भनाई थियो ।

उहाँले एमाले सधैँ सत्य, न्याय, देश र जनताको पक्षमा दृढतापूर्वक उभिँदै आएकाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले शानदार विजय हाशिलगर्ने दाबि पनि गर्नुभएको थियो ।