काठमाडौं,५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा.आरजु देउवाका नाममा तीनदिन भित्र उपस्थित हुन सार्वजनिक सूचना जारीगरेको छ । अख्तियारको टोलीले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ स्थित देउवाको निजी निवासको भित्तामा उक्त सूचना टाँसेको हो । गत भदौ २४ गते आगजनीबाट डा. देउवाको उक्त घर पूर्णरुपमा ध्वस्त भएको थियो। आगोले जलेर बाँकी रहेका घरका भित्तामानै अख्तियारले सूचना टाँस गरेको छ ।

पूर्वपरराष्ट्रमन्त्री डा. देउवा हाल आफ्ना पति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै विदेशमा रहनुभएको छ । गत भदौको आन्दोलनका क्रममा घाइते भएका शेरबहादुर र डा आरजु उपचारका लागि सिंगापुरहुँदै हङकङ पुग्नुभएको बताइन्छ । अख्तियारले राहदानी छपाइ ठेक्का प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धानलाई तीव्र बनाएको छ ।

सोही अनुसन्धानको सिलसिलामा बयानका लागि पूर्वमन्त्री डो देउवालाई उपस्थित हुन बोलाइएको बताइन्छ । अख्तियारद्वारा जारी सूचनामा यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु देउवासमेत भएको राहदानी छपाइ सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेकोभन्ने उजुरीको अनुसन्धानका सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकाले यो सूचना बुझेको वा तपाईंको घरदैलोमा टाँस भएको मितिले बाटोको म्यादबाहेक ३ दिनभित्र यस आयोगको महाशाखा नं १२, कोठा नं १, टंगाल, काठमाडौँमा उपस्थित हुन आउनुहोला भनिएको छ । सो सूचनामा तोकिएको अवधिभित्र उपस्थित नभएमा कानूनबमोजिम कारवाही प्रक्रिया अगाडि बढ्ने चेतावनीसमेत दिइएको छ । देउवा दम्पति नेपाल आउनै लागेको बेला उक्त पूर्जी टाँस भएपछि उहाँहरु रोकिएको बताइन्छ ।