
काठमाडौं,५ असार । विभिन्न राजनीतिक दलका नेता तथा सञ्चार क्षेत्रका विज्ञहरुले प्रेस स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकारको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोडदिएका छन् । मिडिया काउन्सिल मधेस प्रदेशले बीरगञ्जमा हिजो आयोजना गरेको ‘स्वच्छ, विश्वसनिय र मर्यादित पत्रकारिताका लागि आचारसंहितासम्बन्धी अभिमुखिकरण’ कार्यक्रममा उहाँहरुले संविधानको प्रस्तावनामा उल्लेख पूर्ण प्रेस स्वतन्त्रतालाई व्यावहारिकरुपमा पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु रावतले मुलुकमा परिवर्तनको हरेक संघर्षमा पत्रकारको अतुलनीय योगदान रहेको उल्लेखगर्दै अबका दिनमा पनि परिवर्तनका पक्षमा लाग्न आग्रह गर्नुभएको थियो ।
उहाँले मिडियाले आफ्नो विश्वसनियता कायम राख्नुपर्छ, दबाब र प्रभावमा पर्नु हुँदैन, आफ्नो गरिमा कायम राख्नुपर्छ भन्नुभएको थियो । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले मर्यादित र जिम्मेवार पत्रकाररिताका निम्ति पत्रकारले अनिवार्यरुपमा आचारसंहिता पालना गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले हामीले प्रेस स्वतन्त्रताको कुरा गर्दैगर्दा आफ्नो कर्तव्य बिर्सनु हुँदैन, आचारसंहिता पालना गर्दै सत्यतथ्य, विश्वसनिय र जिम्मेवार पत्रकारितामा ध्यान दिन जरुरी छ भन्नुभएको थियो । नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारीले सरकारले सञ्चारमाध्यमलाई दिने विज्ञापनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो । नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकार आचारसंहिताबारे टीकाटिप्पणी र प्रश्न उठिरहेका बेला पत्रकारिता क्षेत्रलाई शुद्धीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभउको थियो ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पछिल्लो समयमा पत्रकारितामा पेसागत चुनौती बढ्दैगएको उल्लेखगर्दै समाचार लेखेकै कारण पत्रकार पीडित हुन नहुने बताउनुभएको थियो । मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झा, पत्रकार दीपेन्द्र चौहान, ऋषि लामिछानेलगायतले पत्रकार आचारसंहिता कार्यान्वयनमा जोड दिनुभएको थियो ।