लन्डन, ३ असार । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी तथा स्टे«ट अफ हर्मुजबाट तेल ढुवानी पुनःसञ्चालन हुने अपेक्षाले युरोपेली शेयर बजारमा वृद्धि भएको छभने अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । हिजो मंगलबार लन्डन, पेरिस र फ्रान्कफर्टका प्रमुख शेयर सूचकांक मध्यान्हसम्म करिब शून्य दशमलव पाँच प्रतिशतले बढेका थिए । विश्लेषकले अमेरिका–इरान तनाव कम हुने संकलेतले लगानीकर्ताको विश्वास बढाएको बताएका छन् । व्यापार समूह एक्सटीबीकी अनुसन्धान निर्देशक क्याथलिन ब्रुक्सका अनुसार सम्झौता औपचारिकरुपमा हस्ताक्षर नभए पनि बजारमा यसको सकारात्मक प्रभाव देखिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टे«ट अफ हर्मुजबाट जहाज आवागमन पुनः शुरु भएको र प्रमुख समुद्री मार्ग शुक्रबारसम्म पूर्ण रुपमा खुला हुने बताउनुभयो ।

इरानी सञ्चारमाध्यमले पनि केही तेल ट्याङ्र तथा कार्गो जहाज उक्त मार्गबाट आवतजावत गरिसकेको जनाएका छन् । यसैबीच, अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार दोस्रो दिन घटेको छ । विश्व बजारको प्रमुख मानिने ब्रेन्ट कच्चा तेलको मूल्य दुई प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल करिब ८१ अमेरिकी डलरमा कारोबार भएको छ । यद्यपि, विश्लेषकले आपूर्ति अवस्थाबारे अझै अनिश्चितता कायम रहेकाले बजारमा उतारचढाव रहन सक्ने चेतावनी दिएका छन् । अमेरिकी ऊर्जा विभागका अनुसार रणनीतिक तेल भण्डार गतसाता सन् १९८३ यताकै न्यूनस्तरमा पुगेको छ, जसले आगामी दिनमा तेलको माग कायम रहने संकलेत गरेको छ ।

यस साता प्रमुख केन्द्रीय बैंकको मौद्रिक नीतिगत निर्णयमा पनि लगानीकर्ताको ध्यान केन्द्रित छ । अमेरिकी फेडरल रिजर्भ र बेलायतको बैंक अफ इङ्गल्याण्डले ब्याजदर यथावत् राख्ने अपेक्षा गरिएको छ । उता, जापानको केन्द्रीय बैंकले ब्याजदर सन् १९९५ पछिकै उच्चस्तरमा पु¥याएको छ । एसियाली बजारमा दक्षिण कोरियाको सियोल शेयर बजार करिब दुई प्रतिशतले बढेको छ । जापानको निक्केई–२२५ सूचकांक पनि उकालो लागेको छभने हङकङ र सांघाइका बजारमा गिरावट आएको छ । रासस, एएफपी