काठमाडौं,३ असार । जिल्ला प्रशासन कार्यालय काठमाडौले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध संघसंगठनका कार्यालयहरु सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ । कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरु सात दिनभित्र हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो । काठमाडौं प्रशासनले हिजो एक सूचना जारीगरी संस्था दर्ता ऐन–०३४ बमोजिम यस जिल्ला प्रशासन कार्यालयमा दर्ता भई काठमाडौंजिल्लास्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैरसरकारी प्रकृतिका प्राविधिक वा पेसागत संघ, संगठन, संस्थाहरुको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, सम्पर्क कार्यालय वा इकाइ कार्यालयहरुका साइनबोर्ड राखी सरकारी भवन संरचनाभित्रै रहे भएको छ भने हटाउन भनेको हो । प्रशासन कार्यालयले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका कुनैपनि संघसंस्थाहरुका त्यस्ता प्रकृतिका कार्यालयहरु सात दिनभित्र हटाई अन्यत्र निजी वा भाडामा लिइएको भवनमा स्थानान्तरणगरी सोको जानकारी यस कार्यालयलाई दिन भनेको छ ।
यस्तै सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायले पनि यस्ता प्रकृतिका संघसंस्थाको बोर्डहरु तथा संरचनाहरु आफ्नो कार्यालय हाताबाट हटाई यस्ता संघसंस्थाहरुले ओगटेका भाग÷क्षेत्रहरु खाली गराउने निर्देशन दिएको छ । सूचनामा यस सूचनाको अवज्ञा गरी संघसंस्थाका कार्यालयहरु सरकारी कार्यालयका संरचनाहरुमा सञ्चालनगरी राखेको पाइएमा कानुनबमोजिम कारबाही भईजाने व्यहोरासमेत आदेशानुसार अनुरोध छ भनिएको छ । रासस