काठमाडौं,१० मंसिर । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौं महानगरको मेयर हुँदा स्टन्टका लागिमात्र कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेको तर भारतको दिल्ली पुगेपछि त्यो सबै बिर्सिएको बताउनु भएको छ । आज काठमाडौंमा केही सम्पादकहरुसँग अनौपचारिक कुरागर्दै अध्यक्ष ओलीले उपरोक्त खुलाशा गर्नुभएको हो । प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन भएको टिप्पणी पनि गर्नुभएको थियो । भ्रमणमा जानुअघि बालेन्द्रले पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु, विभिन्न पार्टीलगायत सरोकारवालासँग सम्वाद नगरेको र २५ घण्टाका लागि गएर तुरुन्त फर्किएकाले राष्ट्रहितका एजेन्डामा गहिरो सम्वाद हुने अवसर गुमेको उहाँको भनाई थियो । अध्यक्ष ओलीले प्रधानमन्त्री जाँदा उहाँसँग सिंगै राष्ट्र जानुपर्ने हो, तर त्यो उहाँको निजी भ्रमणजस्तो हुनपुग्यो ।
प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन । जेजति भए, ती विगतमै भइसकेका विषयका निरन्तरता मात्रै हुन् भन्नुभएको थियो । विगतमा जनकपुरमा दिन्छु भनेको र भूकम्पपछिको पुनर्निर्माणमा दिन्छुभनेको सहायता नै नआएकाले यसपल्ट पनि आर्थिक तथा विकास सहायता आउँछ भनेर मख्ख नपर्न ओलीले सबैलाई सचेत गराउनु भएको थियो । उहाँले ईपीजीका विषयमा सरकारले अनुचित ढंगले अडान छाडेकोभन्दै आलोचना गर्नुभएको थियो । ईपीजी दुई देशका सरकारले सीमालगायत धेरैवटा विषयमा अगाडि जान समझदारीपूर्वक गरेको निर्णय भए पनि अहिले त्यसलाई बीचैमा असान्दर्भिक घोषणागर्न खोजिएको उहाँको भनाई थियो ।
ओलीले आफू पोहोर भदौमा संवैधानिक ढंगले नभई हुल्लडबाजहरुबाट अपदस्थ गरिएको पनि बताउनु भएको थियो । उहाँले अमेरिकाको रक्षा तथा सुरक्षा रणनीतिसम्बन्धी कार्यक्रम एसपीपीको मस्यौदा तयारपारेर हस्ताक्षरगर्न तयार रहेका बेला आफूले असफल पारिदिएको दाबी पनि गर्नुभएको थियो ।