काठमाडौं,३ असार । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न सकिनेभन्दै प्रचार गरिएका अनावश्यक तथा शंकास्पद एपहरु डाउनलोड तथा इन्स्टल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीपकुमार गिरीद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममार्फत विश्वकप २०२६ हेर्न सकिनेभन्दै एन्ड्रोइड एप इन्स्टलगर्न लगाउने, विभिन्न प्रकारका अनुमति माग्ने र त्यसको दुरुपयोगगरी मोबाइल बंैकिङ एप ह्याक गरेर आर्थिक ठगीगर्ने गतिविधि बढ्दैगएको उल्लेख गरिएको छ । साइबर ब्यूरोले एपिके, इएक्सइ, बट, इएचलगायत अनावश्यक तथा अपरिचित फाइलहरु डाउनलोडगरी इन्ष्टल नगर्न सचेत पनि गराएको छ ।

साथै बैंक तथा वित्तीय संस्थाहरुको आधिकारिक सूचना र निर्देशनका आधारमा मात्र बैंकिङ प्रणाली अपडेटगर्न अनुरोध गरिएको छ । ब्यूरोले यस विषयसँग सम्बन्धित सचेतनामूलक सामग्रीहरु आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेको जनाएको छ । विश्वकप फुटबलको नाममा हुने साइबर ठगीबाट जोगिन सर्वसाधारणलाई सचेत रहन र आवश्यक जानकारी आधिकारिक स्रोतबाट मात्र प्राप्तगर्न आग्रह गरिएको छ । रासस