काठमाडौं,३ असार । केन्द्र सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरुमा १४ खर्ब ८० अर्ब राजस्व संकलनगर्ने लक्ष्य राखेता पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा संकलनगर्ने लक्ष्यको ७३.०६ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ ।

केन्द्र सरकारले कर राजस्व शीर्षकमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख राजस्व संकलनगर्ने लक्ष्य राखेकोमा ११ महिनाको अवधिमाभने लक्ष्यको ७४.०३ प्रतिशत अर्थात नौखर्ब ७९ अर्ब ६८ करोड ७८ लाख राजस्व संकलन भएको छ । सरकारले चालु आवको ११ महिना गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख राजस्व संकलनगर्ने लक्ष्य राखे पनि सो अवधिमा लक्ष्यको ६४.७३ प्रतिशत अर्थात् ९९ अर्ब ९४ करोड ६९ लाख राजस्व संकलन गरेको छ ।

त्यस्तैगरी, चालु आवमा अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख राजस्व संकलनगर्ने लक्ष्य राखेकामा सो अवधिमाभने लक्ष्यको ४२.८२ प्रतिशत अर्थात् २२ अर्ब ८८ करोड ५९ लाखमात्रै संकलन भएको थाहा भएको छ ।