काठमाडौं,३ असार । आज पनि प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । जसमा रक्षा मन्त्रालय पनि परेकाले प्रधानमन्त्रि वालेन्द्र शाहको खोजी ब्यापक हुने छ । बैठकमा विनियोजन विधेयक–०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफलकोक्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ । त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लंैगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने बैठकको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
हिजोको बैठकमा सांसद भरतकुमार स्वारले बाँदर र बँदेलको समस्यालाई कतिपय व्यक्तिले हाँसोमा उडाएकोभन्दै देशभरि जनताले दुःख पाएर थातथलो नै छाडेर जानुपर्ने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद राजेन्द्रकुमार राईले सम्बन्धित मन्त्रालयको छलफलमा मन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने मागगर्दै नियमावलीअनुसार बैठक सञ्चालनगर्न माग गर्नुभएको थियो । उहाँले धनकुटामा विशेष कारागार बनाउन जग्गाको व्यवस्था भइसकेको अवस्थामा बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाडौं उपत्यकामा ल्याएर उपयोग भए पनि मेलम्चीमा बाढी प्रभावित जनताका पीडाप्रति सरकारको खासै ध्यान नगएको गुनासो गर्नुभएको थियो । उहाँले मेलम्ची र इन्द्रावती आयोजनाको खेतीयोग्य जमिन व्यवस्थापन र समुदायको हितमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको थियो । सांसद हर्कराज राईले बजेटको प्रभावकारी कार्यान्वयनका लागि कानूनी समस्या देखापर्ने गरेको उल्लेखगर्दै त्यसलाई समयमै सम्बोधनगर्न सरकारसँग माग गर्नुभएको थियो ।
उहाँले योजना तथा परियोजनाको प्रभावकारिताका लागि नियमित अनुगमन आवश्यक पर्नेमा जोड दिनुभएको थियो । सांसद राईले कारागारमा संख्या बढाउनुभन्दा हरेक व्यक्तिलाई नैतिक र सामाजिक शिक्षा दिने व्यवस्थागर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद खुस्बु ओलीले सरकारले विनियोजन विधेयकमाथिको छलफलमा कम समय प्रदान गरेकोभन्दै यसले बजेटमाथिको छलफल कर्मकाण्डीमात्रै हुने धारणा व्यक्त गर्नभएको थियो । उहाँले मदनभण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, रेल मार्ग, उत्तरदक्षिण राजमार्ग र नागढुंगा शुरुङमार्गलगायत योजनामा बजेट निरन्तरता दिनु राम्रो विषय भएको बताउनुभएको थियो । उहाँले निर्माण पनि हुँदै छकि बजेट मात्रै छुट्याइँदैछ ? भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
सांसद पुनमकुमारी अग्रवालले सिँचाइले मात्र किसानको आवश्यकता पूरा हुननसक्ने भएकाले मल, बीउ र बिजनलाई पनि विशेष ध्यान दिनुपर्ने र प्रांगारिक खेतीतर्फ मुलुकलाई लैजानुपर्नेमा जोड दिनुभएको थियो । सांसद मोहन अचार्यले पूर्वाधार निर्माणका देखिएका समस्या समाधानका लागि सार्वजनिक खरिद ऐनमा अध्यादेशमार्फत सुधार गरिएको भए पनि अझै पनि समस्या रहेको बताउनुभएको थियो । सांसद महेन्द्रबहादुर शाहीले अदालतमा मुद्दाको चाप बढेकोभन्दै यसको समाधानका लागि बजेटमा आवश्यक कार्यक्रम नआएको बताउनुभएको थियो । बजेटमा क्षेत्रीय सन्तुलन नदेखिएको उल्लेखगर्दै उहाँले औद्योगिकीकरणसँग ऊर्जालाई जोड्नुपर्ने उल्लेख गर्नुभएको थियो । उहाँले उत्पादन र रोजगारीको व्यवस्था पर्याप्त नभएको टिप्पणी गर्नुभएको थियो । सांसद राधिका रम्तेलले सधैँ सडक निर्माणमा बजेट विनियोजन गरिने भएपनि दिगो निर्माण नहुने भएकाले वर्षामा सधैँ भत्किने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।