काठमाडौं, ३ असार । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत सीमाका सम्बन्धका प्रधानमन्त्रीले सदनमा दिनुभएको अभिव्यक्तिका बारेमा प्रष्ट पार्न आग्रह गर्नुभएको छ । बैठकको शुरुमा सभामुखसँग समय लिएर सांसद राईले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको उचित बन्दोबस्तीगर्न माग गर्नुभएको थियो । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले नेपालको संविधानले सरकारलाई संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरेको जानकारी गराउँदै प्रधानमन्त्रीले सीमाका सम्बन्धमा दिनुभएको धारणाका सम्बन्धमा रुलिङगर्न र संसदमा नै आएर आफ्नो धारणा सच्याउन आग्रह गर्नुभएको थियो ।

उहाँले सरकारका मन्त्रीहरुले नै विभिन्न स्थानमा गैरजिम्मेवार अभिव्यक्ति दिएको घटना सार्वजनिक भएको उल्लेखगर्दै गलत अभिव्यक्ति दिने मन्त्रीलाई जिम्मेवार बनाउनुपर्ने धारणा राख्नुभएको थियो । एमालेका सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायतका स्थानमा नेपालको सीमा अतिक्रमण भएको उल्लेखगर्दै देशभन्दा माथि कोही पनि नरहेको धारणा राख्नुभएको थियो । उहाँले सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरमा मानवोचित व्यवहार नभएको भनी सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसैगरी नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीले सदनमार्फत नेपाल र भारतको सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्तिको आलोचनागर्दै त्यसलाई सच्याउनुपर्ने तर्क गर्नुभएको थियो ।

उहाँले कुनै पनि पार्टीको सदस्य नरहने स्वतन्त्र भूमिकामा रहनुपर्ने सभामुखबाट सोहीअनुसार कामकाज हुने विश्वास व्यक्तगर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीसँग रहेको सम्बन्धको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ? भनी प्रश्न गर्नुभएको थियो । सांसद यादवको उक्त धारणाप्रति सत्तारुढ दल रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गर्नुभएको थियो । लगत्तै सभामुख डोलप्रसाद अर्यालले सांसद यादवको अभिव्यक्तिका सम्बन्धमा ध्यानाकषर्ण भएको बताउनुभएको थियो ।