काठमाडौं,५ असार । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीमा महाधिवेशन अगाबै नेतृत्वकाबारेमा खिचलो शुरुभएको थाहाभएको छ । सभापति रवि लामिछाने पक्षले सहमतिबाटै नेतृत्व चयन गराउन बिशेष टोली परिचालन गरेको छ । यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा हुने रास्वपाको प्रथम महाधिवेशनको तयारी तीब्र पारिएको छ । पार्टीको पहिलो महाधिवेशन भएको र बाहिरबाट विभिन्न समूहहरु समायोजनभई पार्टी बनेका कारण सहमतिबाटै नेतृत्व चयनगर्ने शीर्ष नेताहरुको तयारी रहेको बताइन्छ । हिजो भएको सो पार्टीको सचिवालय बैठकमा सभापति रवि लामिछानेले सहमतिमानै नेतृत्व छान्ने प्रस्ताव अगाडि सार्नुभएको थियो ।

यसअघि वरिष्ठ वालेन्द्र शाहको समूहकासाथै साझा विवेकशील पार्टी, खगेन्द्र सुनार र लक्ष्मण थारुको समूह रास्वपामा समाहित भएको थियो । हिजोको सचिवालय बैठकले वरिष्ठ नेता पदलाई विधानमा समावेश गर्ने र केन्द्रीय समितिको आकार बढाउने निर्णयसमेत गरेको भनिएको छ । विधान संशोधन गर्दै रास्वपाले वरिष्ठ नेतासहित १९ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको हो । हालसम्म पार्टीमा सभापति १, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ४, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, प्रवक्ता १ र सहप्रवक्ता ३ जना हुने व्यवस्था थियो। उपसभापतिमा १, सहमहामन्त्रीमा १ र सहप्रवक्तामा १ जना महिला अनिवार्य गरिएको छ ।

अब नयाँ व्यवस्थाअनुसार सभापति १, वरिष्ठ नेता १, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना हुनेछन् । त्यस्तै, १५१ निर्वाचित सदस्यसहित सातै प्रदेशका सभापतिहरु पदेन सदस्य हुनेगरी कुल १५८ सदस्यीय केन्द्रीय समिति बनाइने भएको छ ।