ढाका, ६ असार । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आफ्नो पहिलो विदेश भ्रमण मलेसियाहूँदै चीनबाट शुरु गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार उहाँले छिमेकी भारतमा प्रारम्भिक गन्तव्यका रुपमा नगई सो भ्रमणगर्न लाग्नुुभएको हो । प्रधानमन्त्री रहमान भोली आइतबार मलेसिया प्रस्थान गर्नुहुने र त्यसपछि पर्सी सोमबार चीनको राजधानी बेइजिङ पुग्ने कार्यतालिका रहेको बंगलादेशी सरकारी समाचार संस्था (बिएसएस)ले परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई उद्धृतगर्दै जनाएको छ । प्रधानमन्त्री रहमान बेइजिङमा रहँदा व्यापार तथा पूर्वाधारसम्बन्धी विषयहरु छलफलको मुख्य एजेन्डा रहने बताइएको छ । त्यसमा दीर्घकालदेखि अल्झिएको टिष्टा नदी परियोजनामा चिनियाँ सहयोगसमेत समावेश हुन सक्ने जनाइएको छ । उक्त परियोजना नदी व्यवस्थापन, ड्रेजिङ, तटबन्ध निर्माण र सिँचाइ सुधारसँग सम्बन्धित छ ।
परराष्ट्र मन्त्रालयले यी भ्रमणलाई बंगलादेशको आर्थिक साझेदारी सुदृढ गर्ने उद्देश्यले गरिएको महत्वपूर्ण कूटनीतिक पहलका रुपमा व्याख्या गरेको बिएसएसले जनाएको छ । मलेसियामा करिब आठ लाख बंगलादेशी कामदार कार्यरत छन्, जुन त्यहाँको विदेशी श्रमशक्तिको एक तिहाइभन्दा बढी हो । सन् २०२४ को राजनीतिक परिवर्तनपछि बंगलादेश–भारत सम्बन्धमा तनाव देखिएको छ । त्यतिबेला तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि नयाँ राजनीतिक परिस्थिति बनेको थियो । हालका प्रधानमन्त्री रहमानले गत फेब्रुअरीमा सम्पन्न निर्वाचनपछि सत्ता सम्हालेसँगै छिमेकी भारतसँग सम्बन्ध सुधारको प्रयास भइरहेको भए पनि केही विषयमा असमझदारी कायमै रहेको बताइएको छ ।
हसिना भारतमा आश्रयरत रहनुभएको र बंगलादेशले उहाँको सुपुर्दगी मागगर्दै आएको विषयले पनि दुई देशबीच कूटनीतिक तनाव बढाएको जनाइएको छ । सीमा क्षेत्रमा अवैध आप्रवासनसम्बन्धी विवादले समेत सम्बन्धलाई प्रभावित पारेको छ । यसैबीच, दक्षिण एसियामा प्रभाव विस्तारका लागि भारत र चीनबीच प्रतिस्पर्धा जारी रहेको विश्लेषकहरुले बताएका छन् । रासस,एएफपी