काठमाडौं,७ असार । तनहुँ जिल्लामा जेठ महिनामा हराएका २१ जनामध्ये १७ जना फेलापरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गरेको मासिक विवरणअनुसार हराएकामध्ये अधिकांशलाई प्रहरीको खोजतलास तथा अनुसन्धानका क्रममा फेलापारिएको हो । प्रहरीकाअनुसार जेठ महिनामा हराएका व्यक्तिमध्ये १० महिला, तीन पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक रहेका थिए । तीमध्ये सात महिला, दुई पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक फेलापरेका छन् । बाँकी व्यक्तिहरुको खोजी जारीरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले हराएका व्यक्तिको खोजी तथा उद्धारलाई प्रहरीले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले परिवारबाट प्राप्त उजुरी र सूचनाका आधारमा विभिन्न जिल्लासँग समन्वय गरी खोजतलास कार्यलाई तीव्र बनाइएको जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक घिमिरेले हराएका व्यक्तिहरुलाई सकुशल फेलापार्न प्रहरी निरन्तर सक्रिय छ । खोजतलास कार्यलाई प्रभावकारी बनाउन विभिन्न प्रहरी इकाइ तथा सम्बन्धित निकायसँग समन्वयगरी काम गरिरहेका छौँ ।”त्यसैगरी, जेठमा जिल्लाभर ५१ वटा मुद्दा दर्ताभएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित तीन, आर्थिक अपराधसँग सम्बन्धित छ तथा अन्य ३२ वटा मुद्दा रहेका छन् । प्रहरीका अनुसार उक्त अवधिमा विभिन्न मुद्दाका ३७ जना प्रतिवादी पक्राउ परेका छन् । अपराध नियन्त्रण तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाउँदै कानुनको कार्यान्वयनमा जोडदिइएको प्रहरी नायब उपरीक्षक घिमिरेको भनाइ छ । फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । जेठ महिनामा ११ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
पक्राउपरेका प्रतिवादीबाट चारवर्ष दुई महिनाको कैद तथा दुईलाख २१ हजार बिगो तथा जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले जिल्लामा शान्तिसुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरी सक्रिय रुपमा परिचालित रहेको बताउनुभयो । उहाँले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा नागरिकको सुरक्षा सुनिश्चितगर्न प्रहरी निरन्तर खटिएको छ । समुदायको सहयोग र सूचनाका आधारमा अपराध नियन्त्रणका प्रयासलाई अझ प्रभावकारी बनाउँदै जानेछौँ भन्नुभएको छ । रासस