
काठमाडौं,७ असार । बिवादका बीच राप्रपाको महाधिवेशनको मिति घोषणा गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । सो पार्टीको गत शुक्रबार र हिजो शनिबार बसेको केन्द्रीय समितिको बैठकले उपरोक्त निर्णय गरेको हो । महाधिवेशनलाई व्यवस्थित र भव्यरुपमा सम्पन्नगर्न अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । प्रवक्ता मोहन श्रेष्ठकाअनुसार उक्त समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु, केन्द्रीय सदस्यहरु, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्यहरु, बिभिन्न विभागका प्रमुखहरु, प्रदेश अध्यक्षहरु, जिल्ला अध्यक्षहरु, केन्द्र तथा प्रदेश सांसदहरुका साथै सबै भातृ संगठनका अध्यक्षहरु रहनेछन् ।
महाधिवेशनको पूर्वतयारीस्वरुप पार्टीले सांगठनिक अधिवेशनको स्पष्ट कार्यतालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्नुपर्ने भएको छ । तोकिएको समयावधिभित्र अधिवेशन सम्पन्नगर्ने जिल्लाहरु मात्र केन्द्रीय महाधिवेशनमा भाग लिन योग्य हुने पार्टीले स्पष्ट पारेको छ । जिल्ला अधिवेशनपश्चात् असोज १५ देखि २४ गतेसम्म सातवटै प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरिने छ । त्यसैगरी महाधिवेशन प्रतिनिधि छनोटका लागि पनि समयसीमा पनि निर्धारण गरिएको छ ।