काठमाडौं,११ कात्तिक । काठमाडौं उपत्यकामा नेपाल प्रहरीद्वारा अपरेसन जारीराखेको छ । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेसनका क्रममा अपराध कर्ममा संलग्न ९२ जना पक्राउपरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार जिल्लाका बिभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानकाक्रममा उनीहरुलाई पक्राउगरिएको हो । प्रहरीले सार्वजनिकस्थल, यातायातका साधन, सरकारी कार्यालय आसपास तथा बढी भीडभाड हुने क्षेत्रलाई लक्षितगरी अभियान सञ्चालन गरेको जनाएको छ । परिसरकाअनुसार पक्राउ परेकामध्ये ८४ जना पुरुष र आठजना महिला छन् । पक्राउ परेकामा बिभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएका व्यक्तिदेखि अदालतबाट दोषी ठहर भई फरार रहेका कसुरदारसमेत छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायमगरी सम्भावित आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणगर्ने उद्देश्यले स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकको बढी आवतजावत हुने सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी तथा सार्वजनिक सेवा प्रवाहगर्ने कार्यालय आसपासका क्षेत्र र भीडभाड हुने स्थानमा प्रहरीले निगरानी तथा जाँचलाई तीव्र बनाएको हो । प्रहरीले विशेषगरी सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपातगर्ने, होहल्ला तथा हुलहुज्जतगर्ने, दुव्र्यवहारगर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाको गतिविधि सञ्चालनगर्ने र गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई लक्षितगरी अभियान सञ्चालन गरेको जनाएको छ । विशेष स्वीप अपरेसनका क्रममा बिभिन्न मुद्धामा अदालतबाट दोषी ठहरभई दण्ड तथा सजाय तोकिएका १३ जना फरार कसुरदारसमेत पक्राउपरेका छन् ।

लामो समयदेखि फरार रहेका तथा अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिको खोजीलाई समेत अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार स्वीप अपरेसनको उद्देश्य शंकास्पद गतिविधिमाथि निगरानी बढाउनेमात्र नभई सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण, फरार प्रतिवादी तथा कसुरदारको खोजी र सर्वसाधारणलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालनगर्ने अवस्था सिर्जनागर्नु रहेको छ ।

सार्वजनिक यातायातका साधन, बसपार्क, भीडभाड हुने बजार क्षेत्र तथा सेवाग्राहीको बढी उपस्थिति रहने कार्यालय आसपासमा चोरी, लुटपाट, दुव्र्यवहार र बिचौलियाका गतिविधि हुनसक्ने भएकाले त्यस्ता क्षेत्रमा प्रहरीको उपस्थिति र निगरानी बढाइएको छ । प्रवक्ता थापाका अनुसार नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा कानूनी कारबाहीलाई प्रभावकारी बनाउनेगरी प्रहरी परिचालन गरिएको हो ।