हवाना, ५ असार । क्युबाको कम्युनिष्ट मोडेललाई ठूलो संकटबाट पार पाउन तत्काल परिवर्तन आवश्यक रहेको क्युबाका राष्ट्रपति मिगुएल डियाज–केनेलले बताउनुभएको छ । कट्टरपन्थी सुधारको आवश्यकतालाई अझै पनि स्पष्ट रुपमा स्वीकारगर्ने उहाँले संकट आउनुमा बाह्य शक्तिलाई मात्र दोष दिएर नहुने बताउनुभएको छ । डियाज–कनेलले कम्युनिष्ट पार्टीको पोलिटब्युरोलाई दिएको र हिजो बिहीबार क्युवाली सञ्चारमाध्यमले प्रसारित सम्बोधनमा परिस्थितिले तत्काल र निश्चित परिवर्तनको माग गर्दछ भन्नुभएको छ। डियाज–कनेलले निजी क्षेत्रलाई बढावा दिने र संकटका कारण विदेशबाट भागेका लाखौं क्युबालीहरुबाट थप पूँजी आकर्षितगर्ने उद्देश्यले सुधारलाई द्रुत गतिमा ल्याउन आह्वान गरिएको बैठकमा बताउनुभयो ।

यी प्रस्तावहरु अभूतपूर्व अमेरिकी दबाबको सामनापछि क्युबाको अर्थतन्त्र विश्वसामु खुलागर्न लागि चीन र भियतनामलाई नमूनाका रुपमा उद्धृत गर्दै क्यानेलले भन्नुभयो–केही सुधारहरुमा ‘पूर्ण सहमति हुनेछैन तर सुधार प्रयास अगाडी नबढाइरहन सकिदैन । उहाँले कम्युनिष्ट पार्टी र सरकारको जिम्मेवारी संकटको व्याख्या गर्ने मात्र प्रयास गर्नुको सट्टा जब जनताको जीवन यति कठीन भएको यसको समाधान खोज्नु र नागरिकलाई राज्यको अभिभावकत्व महशुुस गराउनु पनि हुनेछ भन्नुभयो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरीमा लगाएको तेल आपूर्तिको नाकाबन्दीले क्युबाको अर्थतन्त्र निकै संकटग्रस्त बनेको छ । क्यवाले कहिलेकाहीँ ३० घण्टाभन्दा बढी समयसम्म चल्ने बिजुली कटौतीको सामना गरेको छ भने खाद्यान्न, इन्धन, पिउने पानी र औषधिको अभाव भएको छ । हवानाले आफ्नो समस्यालाई छ दशकभन्दा बढी अमेरिकी व्यापार प्रतिबन्ध र नाकाबन्दीलाई दोष दिने गरेको छ ।

डियाज–क्यानेलले भन्नुभयो–त्यहाँ केही समस्याहरु आन्तरिकसमेत रहेका छन् । उहाँले ढिलासुस्ती, कर्मचारीतन्त्र र मूल्यमान्यताहरु समस्याका लागि दोषी भएको पनि बताउनुभयो । राष्ट्रपतिको सम्बोधनमा आएका यी सुधारलाई बुधबार कम्युनिष्ट पार्टीले अनुमोदन गरेको थियो । राष्ट्रपतिको सुधारका बिषयमा पूर्व राष्ट्रपति राउल क्यास्ट्रोको समर्थन पनि आएको छ । उहाँले राष्ट्रपतिको धारणालाई यस समयमा क्रान्तिको लागि सबैभन्दा फाइदाजनक भएको बताउनुभएको थियो । सुधारका बुँदालाई क्युवाको संसद्ले अनुमोदनगर्ने अपेक्षा गरिएको छ । रासस,एएफपी