
काठमाडौं,५ असार । नेपाली कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट सन्यास लिनुभएको छ । उहाँले हिजो अकस्मात एक प्रेस विज्ञप्ति जारीगर्दै पार्टीको सम्पूर्ण कार्यकारी र सक्रिय जिम्मेवारीहरुबाट अलग भएको घोषणा गर्नुभएको थियो । बिगत लामो समयदेखि नेपाली राजनीति र विशेषगरी माओवादी आन्दोलनको कूटनीतिक एवं राजनीतिक मोर्चामा अग्रपंक्तिमा रहेर काम गर्नुभएका महराले आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण यो बाध्यात्मक निर्णय लिनुपरेको बताउनुभएको छ । उहाँले बक्तब्यमा पार्टी र विचारप्रति आफ्नो कुनै असन्तुष्टि वा वितृष्णा नभई विशुद्ध स्वास्थ्य संकटका कारण आफू सक्रिय भूमिकाबाट पछिहटेको र अब पार्टीको साधारण सदस्यकारुपमा मात्र रहने जनाएनु भएको छ । विगत ४८ वर्षदेखि कम्युनिष्ट नेपाली आन्दोलन र क्रान्तिमा निरन्तर सक्रिय रहँदैआएका महरा लामो समयदेखि एट्रोफीसम्बन्धी गम्भीर नसा र मांसपेशीको समस्याबाट पीडित रहनुभएको जानकारहरुले बताएका छन् ।
लगातारको उपचार, फिजियोथेरापी र औषधि सेवनका बाबजुद पनि स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेकाले पार्टीका दैनिक र नियमित गतिविधिहरुमा भागलिन असम्भव प्रायः बन्दैगएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो शारीरिक अवस्थाले अब देश दौडाहा र उच्च तहको राजनीतिक कार्यभार बहनगर्न साथ नदिएकै कारण देश र पार्टीको हितलाई ध्यानमा राखेर नयाँ पुस्ताका लागि मार्गप्रशस्तगर्न आफूले यो कठोर तर व्यावहारिक निर्णय लिएको जनाउनुभएको छ ।
रोल्पाको लिवाङमा जन्मिएर शिक्षक पेशाहुँदै राजनीतिमा होमिनुभएका महरा तत्कालिन नेकपा (चौथो महाधिवेशन) देखिनै कम्युनिष्ट आन्दोलनमा पूर्णकालीनरुपमा कार्यरत रहनुभएको थियो । ०४८ सालको आम निर्वाचनमा रोल्पाबाट सांसद निर्वाचित हुनुभएपछि संसदीय राजनीतिमा उहाँको उदय भएको थियो । ०५२ मा शुरुभएको माओवादी जनयुद्धका क्रममा उहाँ भूमिगत हुनुभएको थियो । जनयुद्धको अवधिमा माओवादीका शीर्ष कूटनीतिज्ञ र मुख्य प्रवक्ताकारुपमा रहनुभएका महराले तत्कालीन सरकारसँग भएका बिभिन्न चरणका शान्ति वार्ताहरुमा पार्टीकोतर्फबाट वार्ता टोलीको संयोजक र मुख्य सदस्यकारुपमा भाग लिनुभएको थियो । ०६३ पछिको विस्तृत शान्ति सम्झौता र देशलाई लोकतान्त्रिक गणतन्त्रको दिशामा अघिबढाउने शान्ति प्रक्रियाको खाका कोर्नमा पनि उहाँको योगदान महत्वपूर्ण रहेको मानिएको छ ।
माओवादी शान्ति प्रक्रियामा आएपछि महराले देशको उपप्रधानमन्त्रीसहित गृह, परराष्ट्र, अर्थ, र सूचना तथा सञ्चारजस्ता मन्त्रालयहरुको जिम्मेवारी सम्हाल्नुभएको थियो । ०७४ सालको प्रतिनिधिसभाको निर्वाचनपछि उहाँ सर्वसम्मतरुपमा सभामुख पदमा निर्वाचित हुनुभएको थियो । पछिल्ला दिनमा उहाँमाथि सुन तस्करीको आरोप लागेपछि छानबिनको दायरामा समेत ल्याइएको थियो । आफ्नो झन्डै पाँचदशक लामो राजनीतिक यात्राको स्मरणगर्दै महराले बक्तब्यमा यो लामो यात्रामा आफूलाई दृढतापूर्वक साथ दिने सम्पूर्ण पार्टी सहयात्रीहरु, आम नेपाली जनता, शुभचिन्तक र परिवारप्रति हृदयदेखिनै कृतज्ञता ज्ञापन गर्नुभएको छ ।