काठमाडौं,३ असार । परराष्ट्रमन्त्री शिशिर खनाल आफ्नो चारदिने चीन भ्रमण पूरागरी आज बुधबार राति स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँले चीनको बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्तामा नेपालले आर्थिक सहयोग र चिनियाँ लगानीको अपेक्षा गरेको थियोभने चीनले नेपालबाट सुरक्षाको चाहना ब्यक्त गरेको थियो । त्यसैगरी चिनियाँ पक्षले बिआरआई लगायतका यसअघि भएको संझौताहरुको कार्यान्वयनको कुरा उठाएको थियो । मन्त्रि खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ हाइक्सिङ लगायतले पनि भेटवार्ता गर्नुभएको थियो । बेइजिङमा भएका भेटवार्तामा चीनले नेपालमा भएका पछिल्ला गतिविधिबारे आफू सशंकित बनेको स्पष्ट सन्देश दिएको थियो । भनिन्छ नेपालमा रहेको चिनियाँ लगानी र आफ्नो सुरक्षामा चीनको बढीनै चासो देखिएको थियो ।

द्विपक्षीय बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा बढ्दो अमेरिकी प्रभावप्रति लक्षितगर्दै टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो हुने तर्क प्रस्तुत गर्नुभएको थियो । बैठकमा चिनियाँ पक्षले नेपालमा कार्यान्वयनमा रहेको अमेरिकी विकास सहायता एमसीसी, स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी), इन्डो प्यासिफिक रणनीति (आईपीएस) लगायतका विषयमा पनि चासो राखेको थाहा भएको छ । चीनले सधैँ नेपाललाई आफ्नो राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षागर्न र आफ्नै राष्ट्रिय अवस्थाअनुरुप विकास मार्गको खोजीमा सहयोगगर्ने प्रतिबद्धता चिनियाँ विदेशमन्त्रीले दोहो¥याउनुभएको थियो । द्विपक्षीय बैठकमा परराष्ट्रमन्त्री खनालले लिपुलेक मुद्दामा चीनको साथ र समर्थन खोजेको तर चिनियाँ विदेशमन्त्रीले लिपुलेक मुद्दा नेपाल र भारतबीचको भएकोभन्दै पन्छिनुभएको सूत्रहरुले उल्लेख गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङले नेपालमा चिनियाँ ठेकेदार कम्पनीमाथि भ्रष्टाचार मुद्दा चलाएको विषयमा पनि चासो व्यक्त गर्नुभएको थियो । चिनियाँ विदेशमन्त्रीले नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देशमा रुपान्तरणगर्न मद्दतगर्न चीन इच्छुक रहेको समेत बताउनुभएको थियो । द्विपक्षीय बैठकमा पूर्वाधार, सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनता–जनता सम्बन्ध लगायतका मुद्दामा व्यापक छलफल भएको भनिएको छ ।