काठमाडौं, ८ असार । रुपन्देहीको तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको हो । मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवकाअनुसार लामो समयदेखि वर्षा नहुँदा तिनाउ र दानव नदीमा पानीको सहत घट्दै गएपछि समस्या भएको हो । नदीमा पानीको सतह पम्पले पानी तान्न मिल्ने न्यूनतम स्तरभन्दा तल झरेपछि नियमित सिँचाइ सेवा पु¥याउन कठिनाइ भएको उहाँले बताउनुभयो । अध्यक्ष यादवले रोपाइँ शुरु भइसकेको छ । किसान सिँचाइका लागि मर्चवार लिफ्ट आयोजनामा निर्भर छन् । तर, नदीमा पर्याप्त पानी नहुँदा पम्प नियमित सञ्चालन गर्न समस्या भइरहेको छ । पाँच वटा पम्प जडान भए पनि पानीको अभावका कारण हाल तीन वटा पम्प मात्र सञ्चालनमा छन् भन्नुभयो । उहाँकाअनुसार दानव नदीबाट बग्ने पानीलाई रोक्न कम्तीमा पाँच फिट उचाइको बाँध (ड्याम) निर्माण गर्न सके नियमित रुपमा पानी आपूर्ति गर्न सहज हुनेछ ।
पम्पस्टेसन प्रबन्धक अकरम खानले नदीको पानी आयोजनाको डिजाइनअनुसार तोकिएको न्यूनतम स्तरभन्दा करिब एक दशमलव पाँच मिटर तल झरेको जानकारी दिनुभउको छ । यस्तो अवस्थामा पम्प सञ्चालन गर्दा मोटर तथा अन्य उपकरणमा क्षति पुग्ने जोखिम बढेकाले चलाउन नसकिएको उहाँको भनाइ छ । खानले विद्युत् आपूर्ति र उपकरणको अवस्था राम्रो छ । तर, पानीको अभावका कारण लामो समयसम्म मोटर चलाउँदा उपकरण बिग्रिन सक्ने सम्भावना भएकाले सावधानी अपनाउनुपरेको हो भन्नुभयो । हाल तिनाउ नदीका विभिन्न भागमा पानी सुकेर घाँस उम्रिन थालेको छ । नदी किनारका जमिन चिरा पर्न थालेका छन् भने बीच भागमा बालुवा र माटो देखिन थालेको छ । यस्तो अवस्थाले सिँचाइमा मात्र नभई समग्र कृषि उत्पादनमा समेत गम्भीर असर पार्ने सङ्केत देखिएको उहाँले बताउनुभयो । यसैबीच, रोपाइँका समयमा पर्याप्त पानी नपाउँदा किसान चिन्तित बनेका छन् ।
कतिपय किसानले रोपेको धान सुक्ने डर व्यक्त गरेका छन् भने केहीले अझै रोपाइँ शुरु गर्न सकेका छैनन् । आकाशे पानीको भरमा बसेका किसानहरु दिनहुँ वर्षा हुने आशामा आकाशतिर हेर्न बाध्य छन् । मर्चवार क्षेत्रको कृषि उत्पादन मुख्यतः उक्त सिँचाइ आयोजनाको पानीमा निर्भर छ । यदी पानीको अभाव हुँदै गएमा धान उत्पादनमा कमी आउने र किसानहरुले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्थाको सिर्जना हुनसक्ने स्थानीय हृदयराम गुप्ताले बताउनुभयो । स्थानीय बासिन्दाका अनुसार मर्चवार लिफ्ट सिँचाइ आयोजनाले खेतीपातीका साथै भू–जलको सतह सन्तुलित राख्नसमेत महत्वपूर्ण भूमिका खेलेको छ । आयोजनाबाट पर्याप्त पानी आपूर्ति हुन नसके भविष्यमा खानेपानीको स्रोतमा समेत असर पर्नसक्ने भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् । रासस