काठमाडौं, ८ असार । रास्वपाको चितवनमा जारी महाधिवेशनमा बिशेष सुरक्षा सतर्कता अपनाइएको छभने बन्द सत्र शुरुहुन ढिलाई भैरहेको छ । जानकारहरुकाअनुसार तालिकाअनुसार काम नहुने संकेत देखिएको छ । यसअघि जारी निर्वाचन तालिका अनुसार आज सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ । आज सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरुको नामावली प्रकाशन गरिने छ । बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध, ७ बजेदेखि ९ बजेसम्म दाबी–विरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ ।
उहाँकाअनुसार बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिने छ । भोली असार ९ गते मंगलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान शुरु गरिनेछ । जसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उहाँले जानकारी दिनुभएको छ । मतदानपछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा दुई घण्टापछि गरिने छ । त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघिबढाइने उहाँले जानकारी दिनुभएको छ । आयोगले पार्टी सभापतिको उम्मेदवारका लागि रु ५१ हजार शुल्क र एकजना प्रस्तावक एवं ५१ जनाको समर्थन आवश्यक पर्ने जनाएको छ ।
यस्तै, पार्टी पदाधिकारीका लागि ४१ हजार शुल्क र एकजना प्रस्तावक तथा २१ जनाको समर्थन, र केन्द्रीय सदस्यका लागि रु २१ हजार शुल्क र एकजना प्रस्तावक एवं २१ जनाको समर्थन आवश्यक पर्ने आयोगले जनाएको छ ।