काठमाडौं,३ मंसिर । आजबाट काठमाडौंमा भौगर्भिक सम्मेलन हुँदै छ । नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि काठमाडौंमा हुनलागेको हो । समाजका महासचिव शिवकुमार बाँस्कोटाले आज मंसिर ३ देखि ५ गतेसम्म सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभएको छ । सम्मेलनले हिमालय क्षेत्रको भूगर्भीय अनुसन्धानलाई थप सुदृढ बनाउनाका साथै भूविपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास, खनिज तथा प्राकृतिक स्रोतको दिगो उपयोग र नीतिगत निर्णय प्रक्रियामा वैज्ञानिक ज्ञानको प्रभावकारी उपयोगमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय सम्मेलनमा विभिन्न २७ देशबाट ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञको सहभागिता रहने महासचिव बाँस्कोटाले बताउनुभएको छ । सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललेगर्ने कार्यक्रम छ ।
हिमालय क्षेत्रको भूगर्भीय अवस्था, भूगर्भ विज्ञानका नवीनतम अनुसन्धान तथा उपलब्धि, प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा पर्वतीय क्षेत्रको दिगो विकाससम्बन्धी वैज्ञानिक ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा विभिन्न विषयगत क्षेत्रका १७० वैज्ञानिक प्रस्तुति, सातवटा मुख्य सत्र, पाँचवटा विशेष वैज्ञानिक सत्र सञ्चालन हुनेछन् ।
सम्मेलनमा विश्वविद्यालय, सरकारी निकाय, विकास साझेदार संस्था, व्यावसायिक तथा प्राज्ञिक समाजका प्रतिनिधिको सहभागिता रहने समाजले जनाएको छ । कार्यक्रममा भूगर्भ विज्ञान तथा यससँग सम्बन्धित प्रविधि र सेवासँग आबद्ध संस्थाले आफ्ना उत्पादन तथा सेवाबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी कक्षसमेत राखिएको महासचिव बाँस्कोटाले बताउनुभएको छ ।