काठमाडौं,३ मंसिर । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ । दशैँ, तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको हो । बिदापछि अस्पतालको बहिरंग सेवा (ओपिडी) सञ्चालनमा आएसँगै उपचारका लागि आउने बिरामीको संख्या बढेको बताइएको छ । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाकाअनुसार लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक पनि बन्द वा सीमित सञ्चालनमा रहेकाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको बताउनुभएको छ ।

उहाँका अनुसार गत वर्ष ०८२ को कात्तिक महिनामा आकस्मिक, स्वास्थ्य बीमा र सामान्य टिकटमार्फत गरी २९ हजार ४२२ बिरामीले सेवा लिएकामा यसवर्ष सोही अवधिमा ३९ हजार २०० जनाले सेवा लिएका छन् । गत वर्ष असोजमा २९ हजार २८१ बिरामीले सेवा लिएका थिए । त्यस्तै गत वर्ष कात्तिकमा आकस्मिक सेवामा छहजार २५९ बिरामी आएकामा यस वर्ष उक्त संख्या बढेर सात हजार ४९५ पुगेको छ । अस्पतालमा आउने बिरामीमध्ये करिब ६० देखि ७० प्रतिशत स्वास्थ्य बीमामार्फत सेवा लिने छन् ।

ओपिडीमा सबैभन्दा बढी चाप मेडिसिन र अर्थोपेडिक्स विभागमा रहेको प्रवक्ता सापकोटाले बताउनुभएको छ । आन्तरिक मेडिसिन विभागमा दैनिक ३०० देखि ४०० सम्म बिरामी आउने गरेको र कहिलेकाहीँ यो संख्या ५०० देखि ६०० सम्म पुग्ने गरेको उहाँले जानकारी दिनुभएको छ ।