
काठमाडौं,३ मंसिर । नेपालले चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एशोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेको भेटवार्ताकाक्रममा परराष्ट्रमन्त्री खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका यथाशक्य छिटो खुलाउन चिनियाँ पक्षसँग अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले गत भदौमा गएको बाढीले रसुवागढी नाका बन्द भएको र चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरु चिसोले पूर्ण रुपमा सञ्चालन हुन नसक्ने विषम अवस्थामा काठमाडौंबाट सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनका लागि अध्यक्ष याङ्गसँग आग्रह गर्नुभएको हो । परराष्ट्रमन्त्री खनालले तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीककारुपमा रहेको छ । यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ भन्नुभएको थियो । त्यसक्रममा अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर कामगर्ने जानकारी दिनुभएको थियो ।
यसैबीच सभामुख डोलप्रसाद अर्यालसँग पनि चिनियाँ जनसंघका अध्यक्ष याङ्ग वानमिङ्गले शिष्टाचार भेट गर्नुभएको छ । हिजो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उहाँले नेपाल र चीनबीच रहिआएको ऐतिहासिक, घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सम्बन्ध र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास, सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै उहाँले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।