
काठमाडौं,१ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाल भूराजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल बनेको खुलाशा गर्नुभएको छ । रुसको राजधानी मस्कोमा हिजो आयोजित राष्ट्रहरुको स्वतन्त्रताका लागि अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधनगर्दै संयोजक दाहालले उपरोक्त कुरा बताउनु भएको हो । त्यसक्रममा उहाँले नेपाल स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताउनु भएको थियो । भारत र चीनको बीचमा रहेको सार्वभौम तथा भूपरिवेष्टित विकासोन्मुख राष्ट्रकारुपमा नेपालले आफ्नो राष्ट्रिय हित र स्वतन्त्र निर्णयगर्ने अधिकारलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो । उहाँले विश्व इतिहास संवेदनशील मोडमा पुगेको उल्लेखगर्दै राष्ट्रिय सार्वभौमसत्ता र आर्थिक स्वाधीनता कुनैपनि राष्ट्रको वास्तविक स्वतन्त्रताका लागि अपरिहार्य रहेको बताउनु भएको थियो । संयोजक दाहालले बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारणगर्ने अधिकार सबै राष्ट्रलाई रहेको उल्लेखगर्दै सार्वभौम समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित विश्व व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले बहुध्रुवीय विश्व व्यवस्थाको आवश्यकतामाथि चर्चागर्दै दक्षिण–दक्षिण सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको थियो । सीमित बाह्य वित्तीय केन्द्रमा निर्भर रहनुभन्दा आपसी व्यापार, लगानी र पूर्वाधार विकासमा साझेदारी गरेर विकासशील मुलुकहरुले आफ्नो अर्थतन्त्र बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो । त्यसैगरी विश्वव्यापी वित्तीय संस्थाहरुलाई थप लोकतान्त्रिक र उत्तरदायी बनाउनुपर्नेमा उहाँले जोड थियो । उहाँले आर्थिक जोखिम न्यूनीकरणका लागि स्थानीय मुद्रामा व्यापार तथा वैकल्पिक वित्तीय प्रणालीको विकास गर्नुपर्ने धारणा पनि ब्यक्त गर्नुभएको थियो । उहाँले ग्लोबल साउथका मुलुकहरु कच्चा पदार्थ आपूर्तिमामात्रै सीमित हुनुनहुने बताउनु भएको थियो । औद्योगिकीकरण, वैज्ञानिक अनुसन्धान र डिजिटल आधुनिकीकरणमार्फत उत्पादन क्षमता वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो । सम्बोधनका क्रममा उहाँले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे पनि चर्चा गर्नुभएको थियो ।
ऐतिहासिक लोकतान्त्रिक आन्दोलन र सफल शान्ति प्रक्रियामार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएको उहाँले स्मरण गराउनुभएको थियो । रुससँग नेपालको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धको चर्चागर्दै उहाँले शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिका क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तारगर्न नेपाल इच्छुक रहेको बताउनुभएको थियो । संयोजक दाहाल यही मंसिर ३ गते स्वदेश फर्कनु हुने भएको छ । रुसको सत्तारुढ दल युनाइटेड रसियाले आयोजना गरेको सम्मेलनमा चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत ७६ देशका ४८० प्रतिनिधि सहभागी रहेको बताइएको छ । कार्यक्रममा आयोजक दलका संयोजक भी. याकुशेभले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियोभने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाउनुभएको थियो ।