तेहरान, १३ साउन । इरानले अमेरिकासँग तत्काल कुनै सहमति नहुने घोषणा गरेको छ । इरानी सञ्चार माध्यमका समाचारहरु अनुसार त्यहाँको संसदका उपसभामुख हमिदरेजा हाजी बाबाईले इरान अमेरिकासँग कहिल्यै समझदारीमा पुग्न नसक्ने बताउँदै रणनीतिक हर्मुज जलघाँटीलाई इरानको शक्तिको शिखर भएको टिप्पणी गर्नुभएको छ । उहाँले प्रतिरोधको नीतिलाई निरन्तर अघि बढाइने र क्यास्पियन सागर क्षेत्रमा कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिनुभएको छ । इरानी समाचार संस्था आइएसएनएका अनुसार संसदको सार्वजनिक तथा बन्द सत्रलाई सम्बोधनगर्दै हाजी बाबाईले हिजबुल्लाहले इरानी नेतृत्वप्रति व्यक्त गरेको समर्थनलाई प्रतिरोध आन्दोलनको महत्वपूर्ण उपलब्धिका रुपमा उल्लेख गर्नुभएको छ । उहाँकाअनुसार यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा इरान र प्रतिरोध पक्षको प्रभाव बढाएको छ तथा अमेरिका र इजरायललाई पछि हट्न बाध्य बनाएको छ ।

अर्कातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग शान्ति सम्झौताका लागि कूटनीतिक प्रगति हुने राम्रो सम्भावना रहेको बताउनुभएको छ । अमेरिका र इरानले लगातार तेस्रो दिन पनि युद्धविराम कायम राखिरहेका बेला उहाँले वार्तामार्फत द्वन्द अन्त्य हुन सक्ने आशा व्यक्त गर्नुभएको हो । ट्रम्पले एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरागर्दै आफूसँग धेरै धैर्य रहेको र आगामी घटनाक्रमले सकारात्मक दिशा लिन सक्ने विश्वास व्यक्त गर्नुभएको हो ।