काठमाडौं,२५ असार । एमालेले बर्तमान सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदल परित्याग गरेको छ । सो पार्टीले कार्यदलमा सहभागी आफ्ना प्रतिनिधिलाई औपचारिकरुपमा फिर्ता बोलाएको थाहा भएको छ । पार्टीका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असिम साहलाई सम्बोधनगर्दै लेखेको पत्रका उपरोक्त कुरा उल्लेख छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम शासकीय र निर्वाचन प्रणाली सुधारका लागि भन्दै गठित उक्त कार्यदलमा एमालेकातर्फबाट डा. भीष्म अधिकारी लगायतका नेताहरु सहभागी हुनुभएको थियो । एमालेले कार्यदलका कामकारबाही शुरुदेखि नै शंकास्पद प्रकृतिको रहेको, संविधान संशोधनका विषयहरु स्पष्टरुपमा किटान नगरिएको, र वर्तमान संविधानको आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएका कारण शुरुदेखिनै आफ्नो असन्तुष्टि रहँदैआएको जनाएको छ ।

एमालेले पत्रमा संविधान संशोधनका लागि बहसमा ल्याइएका कतिपय विषयहरु लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा देखिएकाले त्यस सम्बन्धमा सरकारको भूमिका स्पष्टपार्न माग पनि गरेको छ । एमालेले उठाएका सवालहरुमा सरकारकातर्फबाट कुनै स्पष्ट जवाफ नआएका सन्दर्भमा अन्ततः पार्टी प्रतिनिधिलाई औपचारिकरुपमा फिर्ता बोलाइएको महासचिव पोखरेलद्वारा जारी पत्रमा उल्लेख गरिएको छ। एमालेभन्दा अगाडिनै अन्य चारवटा प्रमुख राजनीतिक दलहरुले यस कार्यदल बहिष्कार गरिसकेका थिए ।

जसमा नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेको बताइएको थियो । नेपाली कांग्रेसले भने आफ्नो धारणा स्पष्ट गरिसकेको छैन । कार्यदलको गठनमै प्रक्रियागत त्रुटी रहेको राजनीतिक षेत्रमा चर्चाको बिषय रहँदै आएको छ ।