काठमाडौं, २५ असार । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह कांग्रेसमा आक्रामक ढंगले प्रस्तुत हुने भएको छ । काठमाडौंको चुनदेवीमा नयाँ सम्पर्क कार्यालय उद्घाटनपछि तीन दिन बसेको देउवा समूहको बैठकले पार्टीलाई सक्रिय रुपमा अगाडि बढाउने र त्यसका लागि जस्तोसुकै परिस्थितिको सामनागर्न पनि तयार रहने निर्णय गरेको बताइएको छ । हिजोको बैठक पछि नेता मीन विश्वकर्माले सदस्यता अद्यावधिकका नाममा खडा गरिएका अवरोधहरु हटाएर अघि बढ्नुपर्ने निष्कर्ष आफूहरुले निकालेको जानकारी दिनुभएको थियो ।

सदस्यताको अद्यावधिक प्रक्रियामा देखिएको विवाद समाधान गरेर गगन थापा महामन्त्रीहुँदा टुंगिएको क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई मान्यता दिएर अगाडि बढ्नुपर्ने बैठकमा धारणा राख्ने अधिकांश नेताहरुको भनाइ रहेको विश्वकर्माले बताउनु भएको छ । बैठक समापनगर्दै देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सहमतिका लागि पहल गर्नुपर्ने बताउनुभएको थियो । देउवा समूहको बैठकमा धेरै नेताहरुले राष्ट्रिय भेला बोलाउनुपर्ने बताउनुभएको थियो । बैठकबाटै भेलाको मिति तय गर्नुपर्ने अधिकांश नेताहरुको भनाइ आएपछि बैठक समापनको अवसरमा नेता खड्काले राष्ट्रिय भेलाको मितिबारे थप सल्लाह गरेर निर्णय हुने खुलाशा गर्नुभएको थियो ।

देउवा समूहमा केही नेताहरु विशेष महाधिवेशनबाट आएको नेतृत्वसँग जुधेर एकतामा लाग्नुभन्दा आफ्नो छुट्टै बाटो तयगर्नुपर्ने पक्षमा रहेको पाइएको छ । पूर्व उपसभापति बिमलेन्द्र निधि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेता मोहनबहादुर बस्नेत पार्टीका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर निवर्तमान केन्द्रीय सदस्यहरु कुन्दन काफ्ले सहितका केही युवा नेता नयाँ पार्टी बनाएर छुट्टै तरिकाले अगाडि बढ्नुपर्ने पक्षमा देखिनुभएको छ ।