काठमाडौं, १० साउन । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा कर्णाली सरकार गठन हुदैछ । एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणका लागि हिजो शनिबार सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको हो । हिजो एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहालद्वारा हस्ताक्षर भएको सहमतिले यसअघि गरिएको प्रदेशको सत्ता समीकरण प्रभावित हुने भएको छ । त्यसको प्रत्यक्ष प्रभाव कर्णालीमा परेको छ ।
कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसले गत असार ३१ समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्व सरकार अल्पमतमा परेको थियो । असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपाली कांग्रेस कर्णाली प्रदेशससभा दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा सरकार निर्माणगर्ने भन्दै नेकपाका ११ र कांग्रेसका पाँचगरी १६ प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । उक्त दर्ता प्रस्तावमाथिको छलफलगर्न कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको थियो ।
बैठकलाई सम्बोधनगर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिनुभएको थियो । प्रदेश सरकारबाट मुख्यमन्त्री कँडेलले हिजो शनिबार राजीनामा दिएपछि नयाँ सरकार निर्माणको ढोका खुलेको छ । प्रदेश सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभाको बैठक यही साउन १४ गते बिहीबार दिउँसो ३ः०० बजे बस्ने बताउनुभएको छ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया शुरुहुने भएको छ ।