काठमाडौं ८ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमालेसँग तत्काल पार्टी एकता हुने कुनै सम्भावना नरहेको बताउनु भएको छ । हिजो काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा उहाँले उपरोक्त कुरा बताउनु भएको हो । त्यसक्रममा उहाँले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि जोसँग पनि सहकार्य हुनसक्छ, तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छभन्ने होइन दुवै दलको चरित्र फरक छ भन्नुभएको थियो ।

तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीसहित २६ वटा साना कम्युनिष्ट घटकहरु मिलेर वर्तमान नेपाली कम्युनिष्ट पार्टी बनेको बताउँदै उहाँले माओवादी अस्तित्वबारे भ्रम नछर्न आग्रह गर्नुभएको थियो । सुशासन र सामाजिक न्यायको पक्षमा काम गरिरहेकै बेला संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर आफूलाई सरकारबाट हटाएकाले पनि आफूलाई एमालेसँग पार्टी एकतागर्न मन नलालेको उहाँको भनाई थियो ।