काठमाडौं,३ मंसिर । दुईजना पूर्वमन्त्री सहित छजना ठगीमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)ले गैरकानूनीरुपमा रकम असुलगरी ठगी तथा संगठित अपराध गरेको कसुरमा पूर्वमन्त्रीसहित छजनालाई पक्राउगरेको हो । पक्राउपर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन् । त्यसैगरी सिआइबीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सोही मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखहरु उमेश ढुंगाना र राजीव पोखरेल, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन कानून अधिकृत निर्मला गुरुङलाई पक्राउ गरेको छ ।

संगठित ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा थप कानूनी कारबाही तथा अनुसन्धान जारीरहेको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा नेपाल सरकार वादीभई प्रतिवादी कैलाश खड्का समेतको ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन– ०७० अन्तर्गतको कसुरमा ब्यूरोले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

मलेसिया र नेपालबीच भएको सम्झौताको दायरा र कानूनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई मुलुकको मुद्रा सञ्चितीकरणमा गम्भीर नोक्सानी पु¥याउने गरी निर्णय गरिएको अनुसन्धानबाट खुल्नआएको प्रहरीको भनाई छ ।