काठमाडौं,१ मंसिर । बंगलादेशमा फेरी अस्थिरता बढ्ने देखिएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने बताउनु भएपछि उहाँको गृहनगरमा १० प्लाटुन सुरक्षा बल तैनाथ गरिएको थाहा भएको छ । दिनदिनै प्रदर्शन र हिंसाका घटनाहरु हुनथालेका छन् । बंगलादेशको सरकारले हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षालाई ध्यानदिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दंगा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ ।
हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन् । पार्टी प्रतिबन्धित रहेकाले उनीहरुका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । यसैबीच त्यहाँका कानूनमन्त्री मो. असदुज्जमानले हसिना कानूनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत बंगलादेश फर्कने बताउनुभएको छ । मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकाले उहाँले फैसलाविरुद्ध अपिलगर्ने ३० दिने समयसीमा सकिएपछि कानूनी अवसर सीमित हुने मन्त्रीको भनाइ छ ।