काठमाडौं,१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंह मेची–महाकाली पदयात्रामा रहनु भएको छ । उहाँले जनकपुरबाट हिजो मेची–महाकाली पदयात्रा शुरुगर्नुभएको हो । उहाँले यात्राका क्रममा मजदुर, किसान, महिला, दलित, मुस्लिम, व्यापारी, युवालगायत सबै वर्ग र समुदायका नागरिकसँग प्रत्यक्ष संवाद गरिने बताउँदै डा. सिंहले विशेषगरी रोजगारी, जनजीविका र स्थानीय तहमा देखिएका समस्यालाई प्राथमिकताका साथ संकलन गरिने जानकारी दिनुभएको छ ।

जनताका समस्या, गुनासा र सुझाव प्रत्यक्षरुपमा सुन्ने उद्देश्यले उहाँले सो यात्रा शुरु गर्नुभएको बताइन्छ । जनकपुरधामस्थित जानकी मन्दिरमा रास्वपा सभापति रवि लामिछानेले हिजो पदयात्राको थालनी गर्नुभएको थियो । त्यसक्रममा डा. सिंहले नागरिकका वास्तविक समस्या प्रत्यक्षरुपमा बुझन यो पदयात्रा शुरुगरिएको बताउनुभएको थियो । उहाँले सो यात्रा देश र समाजलाई जोड्ने अभियानसमेत भएको उल्लेखगर्दै जात, धर्म, पहाड, मधेस वा वर्गका नाममा कुनैपनि प्रकारको द्वन्द हुननदिन पदयात्रा शुरुगरिएको जानकारी दिनुभयो ।

डा. सिंहले मेची नदीको किनारबाट शुरुहुने पदयात्रा मकर संक्रान्तिका दिन महाकाली नदीको किनारमा पुगेर सम्पन्न हुने जानकारी दिनुभएको थियो । पदयात्राकाक्रममा दैनिक पाँचघण्टा हिँड्ने र सातघण्टा जनताका कुरा सुन्ने योजना रहेको सांसद सिंहले बताउनु भएको छ । प्रत्येक २० देखि २५ किलोमिटरको दूरीमा पर्ने गाउँमा पुगेर स्थानीय बासिन्दासँग छलफलगर्ने र आसपासका बस्तीमासमेत पुगेर समस्या तथा सुझाव संकलन गरिने उहाँको भनाइ छ ।