काठमाडौं,१४ साउन । राष्ट्रिय जनमोर्चाका कार्यबाहक अध्यक्ष रश्मीराज नेपालीले आज एक बक्तब्य प्रकाशित गरी सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको नैतिकरुपमा सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । उहाँले बक्तब्यमा भन्नुभएको छ– सुनसरीको कप्तानगञ्जमा घटेको घटनाप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । राष्ट्रिय जनमोर्चा उक्त घटनालाई दुःखद मान्दछ । नेपाल एउटा बहुधर्म, बहुभाषा, बहुसंस्कृति भएको मुलुक हो । सबै धर्मावलम्बीहरुलाई समानरुपले आआफ्नो धर्मसंस्कृति अनुसार व्यवहारगर्न पाउने अधिकार छ । त्यसकासाथै बहुधर्म, बहुसंस्कृतिमा आबद्ध जनताका बीचको एकताले नै मुलुकको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षा हुने गर्दछ । आपसी बैमनस्यता, द्वैष, घृणाले साम्प्रदायिक विखण्डनको अवस्था श्रृजना गर्दछ । त्यसैले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले सम्बद्ध सबै धार्मीक समूहकाबीच सद्भाव, मित्रता, सहिष्णुता र राष्ट्रिय एकतामा जोड दिन्छ । कप्तानगञ्जमा घटेको स्थानीय घटनालाई आधार बनाएर पूर्वी तराईमा त्यसलाई राजनीतिक रंग दिने षड्यन्त्र पनि भइरहेको छ ।

त्यस प्रकारका कृयाकलापप्रति सम्पूर्ण धर्मावलम्बीहरु सचेत र सतर्क हुनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । धर्म संस्कृति आआफ्नो आस्थाको विषय हो । तर धर्मलाई उपयोग गरेर आफ्नो प्रतिगामी राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि गरिने षड्यन्त्रलाई सही मान्न सकिन्न । त्यस प्रकारका कृयाकलापका विरुद्ध सरकार, दल तथा स्थानीय जनताका बिचको एकतामा जोडदिन्छौँ । पूर्वी तराईमा लामो समयदेखि योजनाबद्ध ढंगबाट भारतीय जनता पार्टी र भारतीय सरकारले राष्ट्रिय स्वयंसेवक दल, बजरंग दल, हिन्दू स्वयंसेवक संगठन, हिन्दू सेना लगायतका धार्मिक संगठनहरु तिब्ररुपमा खोल्ने र तिनीहरुलाई आर्थिक लगानीसमेत गर्दैआएको छ । धर्मलाई राजनीतिक रुप दिएर साम्प्रादायिक विखण्डनको स्थिति पैदा गर्ने उद्देश्यद्वारा भारतीय पक्षले यस प्रकारको गतिविधि गरिरहेको छ । भारतको आडमा तराईका अतिवादीहरुले अल्पसंख्यक मुश्लिमहरुलाई निशाना बनाउँदै आएका छन् । मुश्लिमसँगको द्वन्द श्रृजना गरेर त्यसलाई राजनीतिक रुप दिने षड्यन्त्र पनि गर्दैआएका छन् । कप्तानगञ्जमा घटेको घटना र उक्त घटनाको प्रतिक्रिया स्वरुप तराईका अन्य जिल्लाहरुमा देखिएका गतिविधिहरु त्यसैको परिणाम हो ।

नेपालमा अमेरिकी साम्राज्यवादले पनि धार्मिक आस्थालाई प्रयोगगरेर आफ्नो साम्राज्यवादी राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि लामो समयदेखि षड्यन्त्रगर्दै आएको छ । पूर्वी पहाडमा देखिएको जातिवादी कृयाकलाप त्यसैको परिणाम हो । त्यसकासाथै तराईमा सञ्चालित मदरसाहरुलाई शैक्षिक संस्थाकारुपमा विकास गरिनु पर्दछ । त्यसको आडमा भइरहेका अवाञ्छित गतिविधि वा रोहिंग्या मुश्लिमहरुको घुसपैठ आदि पनि सुनसरी घटना घट्नमा जिम्मेवार छन् । सुनसरी कप्तानगञ्जको घटनालाई साम्यपार्न दुईटा पक्षका बिच वार्ताको माध्यमद्वारा समस्या समाधानगर्नुको सट्टा सरकारले अनावश्यक बल प्रयोग गरेर स्थितिलाई उत्तेजक बनाउने काम गरेको छ ।

जसको परिणाम दुईटा सम्प्रदायका बिच स्थिति साम्य हुनेभन्दा झन् बिग्रेर गएको छ । बक्तब्यको अन्त्यमा स्थानीय घटनामा अनावश्यक बल प्रयोगगर्नका लागि देशका गृहमन्त्री नै जिम्मेवार छन् । बिगतका अन्य घटनाहरुमा अपनाइएको नीतिलाई आधार बनाउँदा उक्त घटनामा बल प्रयोगका लागि बालेन नेतृत्वको सरकार र उक्त सरकारका गृहमन्त्री नैतिकरुपले जिम्मेवार भएकोले तिनीहरुले लिएर राजीनामा दिनुपर्ने आवश्यकता छैन ? यो गम्भीर रुपले विचारणीय प्रश्न हो भनिएको छ ।