
काठमाडौं,१५ साउन । बिभिन्न कम्युनिष्ट पार्टी सम्बद्ध तीनवटा किसान संगठनहरुले सुनसरी घटनाका सन्दर्भमा साम्प्रदायिक द्वन्दबाट देशको सार्वभौमिकतामाथि आँच पुग्ने धारणा व्यक्तगर्दै त्यस्ता गतिबिधि नगर्न सरकारलाई चुनौती दिएका छन् । आज संयुक्त प्रेसवक्तव्य जारीगर्दै उनीहरुले सो धारणा व्यक्त गरेका हुन् । अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासंघका अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष रामदुलार महतोले जारी गर्नुभएको बक्तब्यमा साम्प्रदायिक द्वन्द, उन्माद र उत्तेजना फैलाउने देशीविदेशी तत्त्वको षड्यन्त्रप्रति गम्भीर हुन अपिल गरिएको छ । मृतकलाई यथेष्ठ क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र दोषीमाथि कारबाहीको माग गरिएको छ । उक्त बक्तब्यमा भनिएको छ– सुनसरी देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मेहता परिवारका दुईजना युवा ओमप्रकाश मेहता र जयप्रकाश मेहता, सिरहाको गोलबजारमा अर्का एक युवा गणेश यादवसमेत तीनजनाको हत्या भएको दुखद खबरले हामी तीन जिम्मेवार किसान संगठनलाई गम्भीर र चिन्तित तुल्याएको छ ।
सरकारले समयमै स्थिति सम्हाल्न र शान्त तुल्याउन नसक्दा स्थितिले विकराल रुप लिएको देखिन्छ । राजधानीमा गरिएको सर्वदलीय बैठकबाट प्रकाशित अमूर्त र अस्पष्ट संयुक्त वक्तव्यले समस्याको मर्मलाई छुन सकेको पनि देखिएन । यसरी जनताको जिउधनको सुरक्षा नहुने र दिनप्रतिदिन स्थिति अराजक बनाउँदै लगेर विदेशी हस्तक्षेप निम्त्याउने खतरा बढ्न थालेको प्रतीत हुँदैछ । धार्मिक तथा साम्प्रदायिक द्वन्द, उन्माद र उत्तेजना भड्काएर विभिन्न समुदायका नेपाली जनतालाई परस्पर लडाउने र घृणा फैलाएर एकअर्कामाथि आक्रमण गराउने जुन अवाञ्छित परिस्थिति सिर्जना गरिदैछ, यसले देशको अखण्डता, राष्ट्रिय स्वाधीनता र सार्वभौमितामाथिकै गम्भीर खतरा उत्पन्नगर्न थालेको छ ।
त्यसैले देश र जनताप्रति जिम्मेवार जनसमुदायका बिच परस्पर शान्ति र सद्भाव चाहने राजनीतिक दल, नागरिक समाज तथा बिद्वत् समुदायलगायत देशका मेरुदण्ड र जीवनदायिनी शक्ति सम्पूर्ण किसानहरु सडकमा उत्रिएर सबै धर्म, संस्कृतिका नेपाली जनतालाई शान्तिसुव्यवस्था कायम गर्न, उत्तेजना र आवेशमा नआउन जोडदार अपिल गर्नु अत्यावश्यक र तत्कालैको ज्वलन्त कदम बन्न गएको हामी औल्याउँछौँ, अन्यथा साम्प्रदायिक महामारीको कुत्सित डढेलो सल्काएर नेपाली समाजमा ताण्डव मच्चाउने र विदेशी हस्तक्षेप बढाउने, देशनै विघटन गराउनेजस्ता आत्मघाती खतरा संघारमै पुगिसकेको गम्भीर स्थिति सिर्जना भएर अवाञ्छित तत्वकै स्वार्थसिद्धि हुने कुरा निश्चितप्रायः छ ।
अतः हामी देशका जिम्मेवार किसान संगठनहरु एकै स्वरले यो अवाञ्छित साम्प्रदायिक हत्याहिंसा रोक्न, फैलिन र दोहोरिन नदिन जोडदार आग्रहगर्दै हत्याकाण्डको चपेटामा परेका मृतक परिवारलाई यथेष्ठ क्षतिपूर्ति, भरणपोषण र रोजगारीका व्यवस्था सरकारले तत्कालै गरोस् र गोली लागेका सम्पूर्ण घाइतेको निःशुल्क र पूर्ण उपचार गरोस् तथा दोषीलाई कडाभन्दा कडा कारबाही गरोस् । बक्तब्यका अन्त्यमा यस्ता दुखदायी घटना दोहोरिन र फैलिन नदोओस् तथा नेपालमा बसेर र पसेर यस्ता षड्यन्त्र मच्चाउने तत्त्वमाथि कडा निगरानी राखोस् र अपराधीमाथि अधिकतम कडा कारबाही गरोस् भन्नेसमेत जोडदार माग गर्दछौँ । किसान दाजुभाइका परिवारले अनाकहमा आफ्ना सन्तान गुमाउनुपरेको दुखद घडीमा मृतकप्रति दुःखका साथ हार्दिक श्रद्धाञ्जली ब्यक्तगर्दै शोकसन्तप्त सबै किसान परिवारमा गहिरो समवेदना प्रकट गर्दछौँ भनिएको छ ।