काठमाडौं,१५ साउन । आज मोरङमा सद्भाव ¥याली निकाल्ने तयारी गरिएको थाहा भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका कारण उत्पन्न परिस्थितिलाई न्यूनीकरणगर्न सद्भाव ¥याली निकाल्ने निर्णय गरिएको बताइन्छ । जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा हिजो बसेको सर्वपक्षीय बैठकले आमनागरिक सम्मेलित सद्भाव ¥याली निकाल्ने निर्णय गरेको हो । बैठकले सामाजिक सद्भाव विथोलिने खालका कुनै घटना, सूचना तथा अवस्था देखिएमा सबैले त्यस्ता विषयको सूचना समन्वय गर्ने र सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबैले आवश्यक समन्वय, सहजीकरण र सहयोगगर्ने निर्णय गरेको छ ।
आज शुक्रबार अपरान्ह ३ः०० बजे निकालिने ¥यालीमा सबै राजनीतिक दल, नागरिक सामाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारकर्मी, युवा, व्यापारिक वर्ग, विभिन्न धार्मिक समुदायलगायत सहभागिता रहने जनाइएको छ । सो ¥याली महेन्द्र चोकदेखि, ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय(क) हुँदै जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि डाँफे चोकसम्म जानेछ । त्यसैगरी बैठकले गत १० गते देवानगञ्जमा दुई धर्मावलम्बी समुदायबीच भएको विवादका कारण उक्त घटनामापरी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घटनामा घाइतेभई उपचारमा रहेका व्यक्तिहरुको शीघ्र स्वास्थ्य उपचारका लागि अस्पताल प्रशासनसँग समन्वयगर्ने निर्णय गरेको छ ।