काठमाडौं,२ असोज । अमेरिकाप्रति इरानको अविश्वास कायमै रहेको बताइएको छ । इरानको अर्धसरकारी समाचार संस्था तस्निमकाअनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रका प्याट्रियोटिक युनियन अफ कुर्दिस्तानका नेता बाफेल जलाल तालाबानीसँगको भेटमा बुधबार यस्तो बताउनुभएको हो । रेजाईले हामी कुनैपनि हालतमा अमेरिकालाई विश्वास गर्दैनौँ । उनीहरुले व्यावहारिक कदम चाल्नुपर्छ र हाम्रो विश्वास जित्नुपर्छ भन्नुभएको थियो । उहाँले इरान र इराकी कुर्दिस्तान क्षेत्रबीचको सीमामा सुरक्षा सुनिश्चितगर्न तथा कुर्दिस्तान क्षेत्रमा सक्रिय इरानविरोधी समूहको सामना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले उक्त क्षेत्रमा इजरायलको गतिविधिप्रति पनि चेतावनी दिनुभएको छ । यसअघि बुधबार नै इरानका राष्ट्रपति मसुद पेजेस्कियानले तालाबानीसँगको भेटमा पश्चिम एसियामा कलह र द्वन्द निम्त्याउने विदेशी प्रयासप्रति सचेत रहनुपर्ने बताउनुभएको थियो । राष्ट्रपतिको कार्यालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिअनुसार उहाँले क्षेत्रीय सहयोग र संवादमार्फत अस्थिरता तथा मतभेदका कारण हटाउनुपर्नेमा जोड दिनुभएको छ ।
पेजेस्कियानले छिमेकी मुलुकसँगका विद्यमान समस्या संवाद र सहकार्यबाट समाधानगर्न इरान तयार रहेको बताउनुभएको छ । इरानी राष्ट्रपतिको कार्यालयकाअनुसार तालाबानीले सीमावर्ती क्षेत्रमा सक्रिय क्रान्तिविरोधी समूहलाई उक्त क्षेत्रबाट हटाउन तथा इरानसँगको साझा सीमाको सुरक्षा सुनिश्चितगर्न इराकी कुर्दिस्तान क्षेत्र प्रतिबद्ध रहेको बताउनुभएको भनिएको छ ।